१ बर्ष २ महिनाको जेल बसाई पछि खड्का मुक्त

Khumbahadur-Khadkaकाठमाडौं, २३ असोज । भ्रष्टाचार अभियोगमा डेढ बर्षको कारागार सजाय भोगेर पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का रिहा भएका छन् ।
१४ महिनाको डिल्लीबजार कारागार बसाई पछि नेता खड्का आज (बुधबार) रिहा भएका हुन् । जेलबाट छुटे लगत्तै खड्काले पत्रकार र समर्थकलाई सम्बोधन समेत गरेका थिए । खड्काले डिल्लीबजार कारागारमा जेलसजाय भोगेका हुन् ।
उनले न्यायपालिकाबाट आफूलाई अन्याय भएको दोहर्‍याए । ‘सरकारी सम्पति दुरुपयोग गरेको वा हिनामिना गरेको छैन,’ उनले भने, ‘सरकारी सम्पत्ति दुरुपयोग गरेको एउटा पनि प्रमाण छैन् ।’ उनले अनुमानको भरमा ‘अनुमानित कसुर’ नाम दिएर जनता र राजनीतिबाट टाढा राख्ने प्रयास भएको बताए ।
नेता खड्काले आफूलाई विना प्रमाण जेल साजाय तोकिएको बताए । ‘दुईजना न्यायाधीसले मेरो राजनीतिक यात्रा अन्त्य गर्ने नियोजित षडयन्त्र गरे,’ उनले भने, ‘मेरो फैसला जनताले गर्ने हो, दुई न्यायाधीसले होइन ।’
उनले जेल बसाईका क्रममा मुलुकको अवस्था, प्रजातन्त्र र खतरामा परेको राष्ट्रियताका बारेमा सोँच्ने गरेको बताए । उनले आगामी दिनमा कांग्रेसले दिने जिम्मेवारी बहन गरेर बस्ने बताए ।
नेता खड्काले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई बाहिरै राखेर गरिने निर्वाचनले द्वन्द्व निम्त्याउने बताए । उनले ३३ दलीय मोर्चाका विषयमा कांग्रेस र अन्य जिम्मेवार प्रमुख दलहरुले गम्भीर रुपमा लिनुपर्ने बताए ।
नेकपा–माओवादी बाहिर राखेर गरिने चुनाव पछि आउने परिणामको जिम्मेवारी सुशील कोइराला र शेरबहादुर देउवाले लिनुपर्ने बताए । ‘भोलि कांग्रेसका कार्यकर्ता मारिने लुटिन, पिटिने, सम्पत्ति जफत हुने छ,’ उनले भने, ‘त्यसो भयो भने सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले जिम्मेवारी लिनु पर्छ ।’
खड्काको स्वागतमा गृह जिल्ला दाङ र अन्य जिल्लाहरुबाट उल्लेख्य नेता, कार्यकर्ता तथा समर्थकहरुको सहभागिता थियो ।
२०७९ साल साउन–३० गते सर्वोच्च अदालतले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ बर्ष कैद र ९४ लाख ७४ हजार एकसय २२ रुपियाँ जरिवाना तथा त्यति नै बिगो तिराउने फैसला गरेको थियो । सर्वोच्चको फैसला स्वीकार्दै खड्का भदौं–६ गते डिल्लीबजार कारागार गएका थिए ।
सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलाजले खड्काको मुद्दामा फैसला गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक मन्त्री हुँदा खड्काले २ करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेषले २०६३ कातिक–२९ मा खड्कलाई सफाइ दिएको थियो । यद्यपि, अख्तियारले २०६३ चैत–१५ मा सर्वोच्चमा पुनरावेदन दिएको थियो ।
यसैबीच, खड्काको स्वागतका लागि जम्मा भएका समर्थकका कारण डिल्लीबजार कारागार र सो क्षेत्रमा सयौंको उपस्थिति थियो । प्रहरीले भिड व्यवस्थापन गर्न केही समय हम्मेहम्मे परेको थियो ।

प्रतिक्रिया