चलचित्रलाई आत्मनिर्भर बनाउने राप्रपा नेपालको घोषणा

Rpp-nepalसंविधानसभा निर्वाचनका लागि चार कलाकर्मीलाई उम्मेदबार बनाएको राप्रपा नेपालले आफ्नो चुनावी घोषणापत्रमार्फत चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाएको छ ।
राष्ट्रियता, प्रजातन्त्र र कल्याणकारी राज्यका निमित्त सकारात्मक परिवर्तनको प्रस्ताव भनिएको राप्रपा नेपालको घोषणापत्रमा चलचित्रलाई आत्मनिर्भर तुल्याउन केही समय कर मुक्त बनाइने प्रतिबद्धता गरिएको छ । घोषणापत्रमा भनिएको छ, ‘नेपाली चलचित्र उद्योगको समग्र विकासका लागि आवश्यक पूर्वाधारहरूको निर्माण गरिने छ तथा मौजुद कानुनमा सुधार गरी चलचित्रलाई आत्मनिर्भर तुल्याउन आगामी १० वर्षसम्म कर मुक्त बनाइनेछ ।’
मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा नेपाललाई सुटिङ टुरिजमको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नुका साथै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । उसले घोषणापत्रमा चलचित्र क्षेत्रको विकासमा विशेष ध्यान दिने बताएको छ ।
उसो त राप्रपा नेपालका अध्यक्ष कमल थापा सञ्चारमन्त्री हुँदा चलचित्रमा लाग्दै आएको मनोरञ्जन करको ६६ प्रतिशतसम्बन्धित निर्मातालाई नै फिर्ता दिने नीति ल्याएका थिए । यस्तै, राप्रपा नेपालले साहित्य, कला र संस्कृतिको विकासमा विशेष ध्यान दिने घोषणापत्रमा जनाएको छ । राप्रपा नेपालले काठमाडौं क्षेत्र नं. ४ मा वरिष्ठ चलचित्रकर्मी उद्धव पौडेललाई उमेदबार बनाएको छ भने वरिष्ठ गायिका मिरा राणा, कलाकार सैलजा पाण्डे र गायक सञ्जय श्रेष्ठ पनि राप्रपा नेपालका उमेदबार हुन् । (सौस)

प्रतिक्रिया