मतदाता र उम्मेदवारको सुरक्षामा सिंहको चिन्ता

काठमाडौं : कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले ‘बागी’ उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका छन् ।
काठमाडौं क्षेत्र नम्बर एकअन्तर्गतको वडा नम्बर ११ मा मंगलबार आयोजना गरिएको चियापान कार्यक्रममा महामन्त्री सिंहले आधिकारिक उम्मेदवारलाई सहयोग गर्न सबैलाई आग्रह गरे । ‘बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आह्वान गरिएको छ,’ उनले चेतावनी दिँदै भने, ‘उम्मेदवारी फिर्ता नलिए ‘बागी’ उम्मेदवार तथा ‘बागी’का समर्थक र प्रस्तावकलाई कारबाही हुन्छ ।’
उनले पार्टीको निर्देशन नमान्नेलाई विधान सम्मत निष्काशनसम्मको कारबाही गर्ने चेतावनी दिए ।
आफ्नो मनोनयन फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न आग्रह दोहर्‍याएका महामन्त्री सिंहले भने, ‘बागी उम्मेदवार जो–जो बन्नु भएको छ उम्मेदवारी फिर्ता लिनुस् ।’
उम्मेदवार र मतदाताको सुरक्षा व्यवस्थामा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘एमालेका उम्मेदवार महम्मुद आलमको घटनाबाट पाठ सिकेर सरकारले शान्ति सुरक्षा मजबुदत बनाउनु पर्छ,’ उनले भने, ‘त्यस्ता घटना दोहरिन दिनु हुँदैन ।’
यसैबीच, महामन्त्री सिंहले कांग्रेसको घोषणापत्र बनाउने कार्य अन्तिम चरणमा रहेको बताए । ‘घोषणापत्रमा राख्ने विषयमा छलफल चलिरहेको छ,’ उनले भने, ‘गणतन्त्र संस्थागत गर्ने गरेर घोषणा पत्र तयार गर्छौँ ।’

प्रतिक्रिया