दसैँमा घर फर्कनेको लर्को

public-bus-in-nepalधनगढी : नेपालीहरूको महान् पर्व विजयादशमीको आगमनसँगै बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ भने दसैँ मनाउन घरबाहिर तथा वैदशिक रोजगारका लागि विभिन्न मुलुक गएकाहरू फर्कन थालेका छन् । रोजगारीका लागि भारत गएकाहरू दसैँ आगमनसँगै धनगढीको त्रिनगर न्सार, टीकापुरको खक्रोला नाका, लालबोझी नाका, कञ्चनपुरको गड्डाचौकी,
बैतडीको झुलाघाट, दार्चलाको धार्चुला नाका भएर फर्कन थालेका छन् । एक सातायता त्रिनगर भन्सार नाका भएर दैनिक ५/६ सय नेपाली भारतबाट घर फर्किन थालेको त्रिनगर प्रहरी चौकीले जनाएको छ । धान रोपेर मजदुरीका लागि भारतका विभिन्न सहर जाने नेपालीहरू दसैँ मनाउन घर फर्किने गर्छन् ।
भारतबाट दसैँका लागि घर फर्किदै गरेका नेपालीहरूबाट भारतीय एसएसबीले दुव्र्यवहार गरी रकम असुल्ने गरेको डोटीका नरबहादुर पुनले बताए । भारतबाट कमाई गरेर स्वदेश फर्किने नेपालीहरूमाथि एसएसबीले पटक–पटक दुव्र्यवहार गर्ने तथा खुलेआम पैसा असुल्ने गरेको भएपनि नेपालको स्थानीय प्रशासन भने मौन रहेको उनीहरूको गुनासो छ ।
काठमाडौंबाट सुदूरपश्चिम आउनेहरू बढ्न थालेपछि सुदूरपश्चिम यातायात संघले चारवटा बस थप गरेको छ । यस्तै, पहाडी जिल्ला तथा स्थानीय रूटमा समेत आवश्यकताअनुसार बस थप गरिएको संघका कार्यालय प्रमुख देवीलाल जोशीले बताए । कर्णाली रिभर साइड यातायात व्यवसायी समितिले पनि पहाडी रूटअन्तर्गत अछाममा दैनिक एउटा गाडी पठाइरहेको समितिले जनाएको छ । यता, दसैँका लागि किनमेल गर्नेको समेत घुइँचो बढ्न थालेको छ । कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की, सुखडलगायत बजार क्षेत्रमा दसैँका लागि किनमेल  गर्नेको घुइँचो बढेको छ । तर, व्यापारिक सामानको मूल्य पनि चर्को भएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन् ।
बर्सेनि बढ्दै गएको महँगीले गरिबका लागि दसैँ दशाका रूपमा देखिन थालेको स्थानीय रमेश साउदले भने, ‘घरमा एक जनाको कमाइले नपुग्ने भयो दसैँ नआएको भए हुन्थ्यो जस्तो लाग्छ ।’ स्थानीय बजारमा दसैँका लागि कपडा किनमेल गरिरहेका साउदले दुखेसो सुनाए, ‘गत वर्ष ६ सयमा पाउने पाइन्ट यसपालि एक हजार पुगेको छ ।’ हुनेखाने वर्गका लागि दसैँमा रमाइलो हुने गरे पनि गरिब एवं विपन्न वर्गका लागि दसैँ कागलाई बेल पाक्यो हर्ष न विस्मातसरह बनेको अर्का उपभोक्ता बताउँछन् । (सौस)

प्रतिक्रिया