भोजभतेरमा रोक

Elecatation Votting Pollingकाठमाडौं, २३ असोज । निर्वाचन आयोगले आचारसंहितालाई असर पर्ने गरी दसैँ, तिहार, छठलगायत पर्वमा कुनै पनि प्रकारको भोजभतेर नगर्न निर्देशन दिएको छ ।

आयोगले मंगलबार विज्ञप्तिमार्फत चुनाव प्रचारको सिलसिलामा दसैँ, तिहार, छठलगायत पर्वमा राजनीतिक दल वा सम्बन्धित पक्षलाई जलपान, भोजभतेरमा रोक लगाएको हो । ‘दल वा उम्मेदवार तथा सरोकारवालाले जलपान, भोजभतेरलगायत कार्य नगर्नू,’ विज्ञप्तिमा भनिएको छ । आयोगले झन्डा वा चुनाव चिह्न छापिएको टोपी, टिसर्ट, कमिज, झोला, कलमलगायतमा पनि प्रतिबन्ध लगाएको छ ।
असन्तुष्टलाई फकाउँदै आयोग
निर्वाचन आयोग ४ मंसिरमा हुने दोस्रो संविधानसभा चुनाव बहिष्कार गरेका राजनीतिक दललाई फकाउने प्रयासमा लागिपरेको छ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनावी प्रक्रियाप्रति असन्तुष्ट दललाई चुनावमा सहभागिताका लागि पत्राचारको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग प्रमुख आयुक्त उप्रेतीले असन्तुष्ट दललाई मतदान प्रक्रियामा सहभागी गराउन आयोग र सरकार लागिपरेको बताएका हुन् । ‘हामीले बहिष्कारमा रहेका दललाई मतदानमा सहभागी हुन अपिल गरेका छौँ,’ उप्रतीले भने, ‘अब हामीले पत्रै काटेर मतदानमा सहभागी हुन भन्छौँ ।’
अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन र चुनावी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलगायत दल चुनाव बिथोल्ने रणनीतिमा छन् । उप्रेतीले भने मतदान केन्द्र पुगेर मतदान गर्न पाउने सम्पूर्ण नेपालीको अधिकार सुरक्षित रहेको बताए ।

प्रतिक्रिया