काठमाडौं, २२ असोज । नेकपा (माले)ले कालिकोट जिल्लामा एमालेले आफ्ना उम्मेदवार लक्ष्मीप्रसाद उपाध्यायलाई करकापमा पारेर उम्मेदवारी फिर्ता गराउन बाध्य बनाएको आरोप लगाएको छ ।
नेकपा (माले)ले आज (मंगलबार) विज्ञप्ति जारी गरेर उपाध्यायलाई उम्मेदवारी फिर्ता गराउन बाध्य बनाईएको जनाएको हो । उसले सो कार्यको स्थानीय प्रशासनलाई जानकारी गराएको उल्लेख गरेको छ ।
‘कालिकोट जिल्ला कमिटीका सचिव कालिबहादुर शाही र उम्मेदवार लक्ष्मीप्रसाद उपाध्यायलाई एमालेका कार्यकर्ताले भिजिलान्ते र गुण्डागर्दी शैलीमा करकापमा पारी उम्मेदवारी फिर्ता गराउने कुकृत्य गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
नेकपा (माले)ले यस्तो कार्य अलोकतान्त्रिक, निर्वाचन आचार संहिता विपरित तथा अराजनीतिक चरित्र रहेको टिप्पणी गरेको छ ।
‘उम्मेदवारलाई अपहरणको शैलीमा आफ्नो कब्जामा लिई उम्मेदवारी फिर्ता गराउने कार्यको हामी गम्भीर विरोध र भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘कालिकोट जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समेत ध्यानाकर्षण गराएका छौं ।’
प्रतिक्रिया