कर्मचारीलाई थुनेर नगरपालिकामा तालाबन्दी

talabandiदैलेख : दसैँ नजिकिँदासमेत सडक मर्मत नगरेको भन्दै नारायण नगरपालिकामा वडा नम्बर २ का वडावासीले कर्मचारीलाई थुनेर तालाबन्दी गरेका छन् । सडक खुलाउने विषयमा पटक–पटक छलफल हुँदासमेत बेवास्था गरेको भन्दै उनीहरूले कर्मचारीलाई कार्यालयभित्रै हुलेर नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
कार्यालयका निमित्त कार्यकारी अधिकृत निरक रावलसहित अन्य कर्मचारीलाई कार्यालयमै थुनेर वडावासीले तालाबन्दी गरेका हुन् । कार्यकारी अधिकृतले एक हप्ताअघि जिल्ला छाडेपछि सडक मर्मत योजना रोकिएको थियो । आफूलाई आर्थिक अख्तियारी नआएकाले सडक मर्मत गर्न नसकिएको निमित्त कार्यकारी अधिकृत रावलले बताए ।
दसँै नजिकिँदै गर्दा सडक मर्मत नहुँदा सडकहरू बन्द रहेका छन् । नगरका सडकहरू नखुल्दा दसँैको मुखमा निकै समस्या हुने गरेका स्थानीयहरूको भनाइ छ । आफूहरूले सडक मर्मतका लागि बारम्बार अनुरोध गर्दासमेत अटेर गरेपछि बाध्य भएर ताला लगाउनुपरेको वडावासीहरूले बताए । कार्यकारी अधिकृत गगनबहादुर विके जिल्लाबाहिर गएपछि सडक मर्मतको जिम्मेवारी नदिँदा नगरका ४२ सडक अवरुद्ध छन् । । (सौस)

प्रतिक्रिया