पाँचको उम्मेदवारी रद्द

काठमाडौं, २१ सोज । निर्वाचन आयोगले ४ मंसिरमा हुने दोस्रो संविधानसभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पाँच जनाको मनोनयन रद्द गरेको छ ।

उमेर नपुगेको तथा पार्टीको आधिकारिक पत्र नभएकाले उनीहरूको उम्मेदवारी रद्द गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार नुवाकोट क्षेत्र नम्बर २ का एमाले उम्मेदवार बद्री मैनालीको पार्टीको आधिकारिक पत्र नभएको, पर्सा क्षेत्र नम्बर ३ का सदभावना पार्टीका उम्मेदवार सत्यनारायण प्रसादको पनि पार्टीको आधारिक पत्र नमिलेको तथा पर्सा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार आलोककुमार चौरसियाको उमेर नपुगेकाले उम्मेदवारी रद्द गरिएको हो । त्यस्तै, धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुदन खाँडको उमेर नपुगेको र कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका डिल्लीबहादुर विष्टका समर्थकको उमेर नपुगेकाले उनीहरूको पनि उम्मेदवारी रद्द गरिएको छ ।
उम्मेदवारविरुद्ध शून्य उजुरी
यसैबीच, ४ मंसिरमा हुने चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवारविरुद्ध उजुरी नपरेको आयोगले जनाएको छ ।
पहिलो हुने चुनाव प्रणालीअन्तर्गत १७ असोजमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध १९ असोजमा उजुरी दिने र २० गते उजुरीमाथि छानबिन गर्ने आयोगको कार्यतालिका थियो । आयोगले दिएको समयसीमामा उम्मेदवारविरुद्ध कसैले पनि उजुरी नदिएपछि २१ गते आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्दै छ । आयोगका अनुसार प्रत्यक्षतर्फ मनोनयनपत्र र उजुरीमाथि छानबिन गरी निर्णय गर्ने काम सकेर सोमबार उम्मेदवारको नामावली प्रकाशन गर्ने र मंगलबार उम्मेदवारको नाम फिर्ता लिन दिइनेछ । यो काम सकेपछि उम्मेदवारलाई चुनाव चिह्न वितरण गरी प्रत्यक्षतर्फको मतपत्र छापिनेछ ।
२ सय ४० चुनाव क्षेत्रबाट ६ हजार ३ सय ५२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये एक हजार स्वतन्त्र, एक तेस्रोलिंगी, ५ सय ९१ महिला र ५ हजार ७ सय ६१ पुरुष रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया