साढे ४७ हजारले कोरियन भाषा परीक्षा दिँदै

काठमाडौं, २० असोज । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइने भाषा परीक्षा आजदेखि सञ्चालन हँदै छ । राजधानीका १७ वटा परीक्षा केन्द्रमा दुईदिन सञ्चालन हुने कोरियन भाषा परीक्षामा ४७ हजार ६ सय ९० जनाले सहभागिता जनाउँदै छन् ।

भाषा परीक्षाका लागि ५ भदौदेखि चार दिनसम्म ४७ हजार ९ सय २६ जनाले आवेदन भरेका थिए । करिब तीन सय आवेदक परीक्षामा सहभागी नहुने वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिएका छन् । आवेदकले फारम भर्दा भएका त्रुटि परीक्षा अवधिमा सच्याउन मिल्ने भएकाले उनीहरूले अनिवार्य नागरिकता प्रमाणपत्र वा राहदानी ल्याउनुपर्ने निर्देशक बास्तोलाले बताए ।
बास्तोलाका अनुसार परीक्षा अनुगमनका लागि कोरिया सरकारले ४८ प्रतिनिधि पठाइसकेको छ । परीक्षाको सम्पूर्ण व्यवस्थापन कोरिया सरकारले नै गर्छ । ‘दिनमा दुई सिफ्टमा सञ्च्चालन हुने परीक्षाको प्रश्नपत्र फरक–फरक हुन्छ,’ उनले भने, ‘परीक्षाको उत्तरपुस्तिका कोरिया सरकारले ओआरबी सिस्टमबाट जाँच गरेपछि परीक्षाफल ४ कात्तिकमा प्रकाशित हुन्छ ।’
पहिलो दिन पहिलो सिफ्ट बिहान ८:३० बजेदेखि सञ्चालन हुँदै छ । परीक्षामा डेढ घन्टा ओरिन्टेसन र १० बजेदेखि ७० मिनेट लिखित परीक्षा हुनेछ । दिउँसोको सिफटमा १ बजेदेखि डेढ घन्टा ओरिन्टेसन र २:३० बजेदेखि लिखित हुने शाखाले जनाएको छ । परीक्षामा १८ देखि ३९ वर्षसम्मका व्यक्तिले मात्र भाग लिन पाउनेछन् ।
यस वर्ष कोरियाले नेपालका लागि आठ हजार दुई सय कोटा छुट्याएको छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ६ सय र कृषि तथा पशुपालनमा तीन हजार ६ सयको माग छ । परीक्षामा उत्तीर्ण कामदारको नाम प्राप्तांकका आधारमा इपिएस कोरिया शाखाले रोस्टरमा राख्ने गरेको छ । कोरियाका रोजगारदाताको मागअनुरूप रोस्टरमा परेका कामदार कोरिया जान पाउछन् ।
सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपिएस सम्झौता भएको थियो । सन् २००८ देखि इपिएसअन्तर्गत भाषा परीक्षा दिएर नेपाली युवाहरू कोरिया जान थालेका हुन् । निर्देशक बास्तोलाका अनुसार नेपाल र कोरियाबीच उक्त सम्झौता भएदेखि नेपालबाट १७ हजार युवालाई कोरियाले रोजगारी दिइसकेको छ । सन् २०११ मा भाषा परीक्षा उत्तीर्ण युवाको रोजगारीमा जान पाउने म्याद २०१३ को डिसेम्बरसम्म छ । यसपटकको परीक्षामा उत्तीर्ण हुनेलाई सन् २०१६ को डिसेम्बरसम्मको म्याद रहने शाखाले जनाएको छ ।

प्रतिक्रिया