मतपत्र छपाइ आजदेखि

Elecatation Votting Pollingकाठमाडौं, २० असोज । आगामी संविधानसभा चुनावका लागि आवश्यक मतपत्र छपाइको काम आज सुरु हुँदै छ । जनक शिक्षा सामग्री केन्द्रले आइतबार मतपत्र छाप्न सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।

‘आयोगले सबै प्रक्रिया पुर्‍याएर जनक शिक्षालाई मतमत्र छाप्ने जिम्मेवारी दिएको छ,’ आयोगका प्रवक्ता वीरबहादुर राई भने, ‘आइतबार मतपत्र छपाइको काम सुरु हुन्छ ।’ जनक शिक्षाले मतपत्र छापाइको काम २२ कात्तिकसम्ममा सम्पन्न गर्ने राईले जानकारी दिए ।
सुरुमा समानुपातिकतर्फका उम्मेदवारको मतपत्र छपाइ गरिने जनकशिक्षा कर्मचारी युनियनका सभापति राम कुँवरले जानकारी दिए । ‘मतपत्र छपाइका लागि आवश्यक कर्मचारीको व्यवस्थापनलगायतका सबै काम सकिएको छ,’ युनियन सभापति कुँवरले भने, ‘आइतबारदेखि मतपत्र छपाइ प्रक्रियाअघि बढ्छ ।’ मतपत्र छपाइ गर्ने स्थानमा सुरक्षा व्यवस्था कढा गरिएको उनले जानकारी दिए । उनका अनुसार पनि पहिला समानुपातिक र त्यसपछि मात्र प्रत्यक्षतर्फको मतपत्र छापिनेछ । आयोगले करिब तीन करोडप्रति मतपत्र छपाउने तयारी गरेको छ ।
दल दर्ताका लागि आह्वान गरेका बेला दर्ता गर्ने दलको सूचीको क्रमलाई आधार मानेर मतपत्रमा चुनाव चिन्ह राखिने आयोगले जनाएको छ । आयोगले दलदर्ताका लागि दुईपटक गरेर करिब दुई महिनाको समय दिएको थियो । आयोगले पहिलोपटक दल दर्ताका लागि गरेको आह्वानमा आयोगमा दल दर्ता गर्नेमा एमाले पहिलो दल बनेको थियो । दोस्रो नम्बरमा एमाओवादी र तेस्रोमा राप्रपा नेपालले दल दर्ता गराएको थियो । दल दर्ता गर्नेमा कांग्रेस चौथो र नेकपा (माले) पाँचौँ नम्बरमा थिए ।
दल दर्ता गर्ने समयमा पहिलो दर्ता हुने दलको मतपत्रमा पहिलो नम्बरमा चुनाव चिन्ह राख्ने विषयमा दलहरूबीच तीव्र मतभेद भएको थियो । त्यही विषयमा विवाद भएपछि पहिलो दिनको दल दर्ता प्रक्रिया निर्धारित समयभन्दा झण्डै ६ घन्टा ढिलो सुरु भएको थियो ।

प्रतिक्रिया