प्रहरीले दायरा मिच्यो

यो सञ्चारगृहमाथिको हस्तक्षेप हो
भीम रावल
एमाले नेता तथा पूर्वगृहमन्त्री
सञ्चारमाध्ययममा मात्र होइन कुनै पनि संस्थामा विनापक्राउ पूर्जी कानुनी शासन र प्रक्रिया उल्लंघन गरी पक्राउ गर्ने अधिकार राज्यका कुनै पनि निकायलाई छैन । अहिले मुलुक नै संविधानसभा चुनावको तयारीमा सक्रिय भएको अवस्थामा राज्यको सुरक्षा निकायले राज्यको चौथो अंगका व्यक्तिलाई विनापूर्जी पक्राउ गर्ने कुरा गलत छ । कानुनी प्रक्रिया नपुर्‍याई यसरी सञ्चार संस्थामाथि हस्तक्षेप गर्नु गैरकानुनी कार्य हो । यस्ता कुरामा राज्य र सम्बन्धित निकाय सजग हुन जरुरी छ । के कारण हो किन यस्तो भयो भन्नेजस्ता विविध कारणको खोजी नगरी बर्दीसहितका प्रहरीले सौर्य दैनिकका सञ्चालद्वय रमेश न्यौपाने र शिव ढकाललाई पक्राउ गरेको घटना कानुनी शासनको उल्लंघन हो ।
प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य
टीकाराम भट्टराई
उपाध्यक्ष, नेपाल बार एसोसिएसन
देवयानी प्रकृतिका उजुरीमा प्रहरीले पक्राउ या कुनै प्रकारको कानुनी कारबाही गर्न सक्दैन । त्यसमा पनि पत्रिकाको कार्यालयमा छापा मार्नु प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कार्य हो । यस्ता खालका कार्यले आगामी दिनमा नेपाली प्रेसहरू स्वतन्त्र छैनन भन्ने संकेत गर्दछ । असंवैधानिक सरकारले गरेको यो असंवैधानिक कार्य हो ।
प्रहरीले दायरा मिच्यो
गगन थापा
कांग्रेसका युवा नेता
कानुनी अधिकारभन्दा बाहिर गएर सञ्चारगृहमा छापा मार्नु नितान्त गलत कुरा हो । कुनै पनि gagan thapaबहानामा सञ्चारगृहभित्र बर्दिधारी प्रवेश गर्नुलाई ठीक मान्नै सकिन्न । केही प्रशासनिक समस्या भए त्यही बसेर सुल्झाउने विषयवस्तु हो तर प्रहरी हस्तक्षेपबाट सुल्झाउन बेठीक तरिका हो । प्रहरीले सञ्चारगृहको संवेदना बुझन सकेन, सञ्चारगृह केही लिने र दिने संस्था मात्र हैन भन्ने कुरा प्रहरीले बुझन जरुरी थियो । आफ्नो अधिकार के हो त्यो दायरामा पनि प्रहरी रहन सकेन । संविधानद्वारा प्रत्तद अधिकारको दुरुपयोग गर्ने अधिकार प्रहरीसँग छैन यसकारण पनि यो कार्य खेदजनक छ । कांग्रेस यस कार्यको भत्र्सना गर्दछ ।
आन्तरिक मामिलामा हस्तक्षेप
खगराज भट्ट
एमाओवादी नेता
सञ्चारगृहमाथि प्रवेश गरी विनापूर्जी पत्रिकाका सञ्चालकलाई पक्राउ गर्ने राज्यको दमनकारी कार्यलाई स्वीकार गर्न सकिँदैन । स्वतन्त्र प्रेसको पक्षमा रहने हामीले राज्यको चौथो अंगका रूपमा रहेको प्रेसमाथि हस्तक्षेप गर्नु उचित हुँदैन । अझ अदालतको आदेशविपरीत गरिने गैरकानुनी कामको समर्थन गर्नै सकिँदैन । आन्तरिक मामिलामा प्रहरीले हस्तक्षेप गर्नु प्रेस स्वतन्त्रता विरोधी कदम हो । यसलाई समर्थन गर्नै सकिँदैन । यसले निर्वाचनमा पनि सकरात्मक सन्देश दिँदैन ।
बन्दुके हस्तक्षेपको विरोध गर्छौँ
पम्फा भुसाल
प्रवक्ता, नेकपा–माओवादी
बन्दुक र बर्दीसहित कुनै पनि मिडिया हाउसभित्र प्रहरी पसेर छापा मारेकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । मिडिया हासउभित्रका समस्याहरू त्यहीँभित्र टुंग्याउनुपर्ने हो, त्यसो नभएमा सञ्चारमाध्यमकै क्षेत्रमा काम गर्ने प्रेस काउन्सिल, पत्रकार महासंघको रोहबरमा यस्ता काम हुँदै आएका छन् । यस्तो अवस्थामा बन्दुकधारी हस्तक्षेप हुनुले निरंकुशता लाद्न लागिएको हैन भन्ने शंका उब्जन्छ । अझ विनापूर्जी कुनै पनि मिडिया हाउसभित्र बर्दी र बन्दुकसहित पसेर धरपकड मच्चाएको घटनाप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ । यस्तो गैरकानुनी र बन्दुके हस्तक्षेपको हाम्रो पार्टी विरोध गर्दछ ।

प्रतिक्रिया