बागीको ओइरो

Padam-Kuwarकाठमाडौं, १८ असोज । ४ मंसिरमा हुने संविधानसभाको दोस्रो चुनावका लागि सबै राजनीतिक दलबाट बागी उम्मेदवारको ओइरो लागेको छ । प्रमुख राजनीतिक दलहरू एकीकृत माओवादी, कांग्रेस र एमालेमा पार्टी निर्णयविपरीत नेताहरूले बिहीबार धमाधम बागी उम्मेवदारी दिएका छन् ।

एमालेबाट केही समयअघि मात्र एमाओवादीमा प्रवेश गरेका नेता रामचन्द्र झाविरुद्ध पार्टीका केन्द्रीय सदस्य श्रवण यादवले धनुषा क्षेत्र नम्बर १ मा बागी उम्मेवदारी दिएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशकी तेस्री श्रीमती विना मगरविरुद्ध कञ्चनपुर १ मा पार्टीको थारुवान् राज्यका सचिवालय सदस्य गगन सिंहले तामझामसहित उम्मेवदारी दिए । सिंहलाई जिल्ला इन्चार्ज खड्क बस्नेतसहित अधिकांश नेता–कार्यकर्ताको समर्थन छ । काभ्रे–१ मा पूर्वमन्त्री सूर्यमान दोङविरुद्ध वाइसिएलका जिल्ला नेता तेजेन्द्र पौडेलले उम्मेवदारी दर्ता गराएका छन् ।
त्यस्तै, एमाओवादी उम्मेदवारविरुद्ध ललितपुरमा बागी परेको छ । सिफारिसमा परे पनि पार्टीले टिकट नदिएपछि ललितपुर २ मा सरोज ढुंगेलविरुद्ध जनक थापाले स्वतन्त्र उम्मेवदारी दिएका छन् । बाँकेमा पार्टी केन्द्रीय सदस्य महेश्वर गहतराजविरुद्ध नै बागी उम्मेवदारी परेको छ । केन्द्रीय सदस्य गहतराज लड्ने बाँके–१ मा थारुवान् राज्यसमिति सचिवालय सदस्य भीमप्रसाद देवकोटाले स्वतन्त्र उम्मेवदारी दिएका छन् । काठमाडौं–३ मा समेत एमाओवादीका आधिकारिक उम्मेवदार गणेश रेग्मीविरुद्ध गणेश तामाङले उम्मेवदारी दर्ता गरेका छन् ।
कांग्रेसमा पार्टी सभापति सुशील कोइरालाकै विरुद्ध बागी उम्मेदवारी परेको छ । कोइराला लड्ने चितवन–४ मा चितवन कांग्रेसका पूर्वसभापति विकास कोइरालाको उम्मेदवारी दर्ता भएको छ । उनले चितवन–३ मा पनि पार्टीका आधिकारिक उम्मेवदार भीमबहादुर श्रेष्ठविरुद्ध उम्मेवदारी दिएका छन् । कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध कैलालीमा बागी उम्मेदवारी परेको छ । देउवा लड्ने कैलाली–६ मा पूर्वसांसद गंगबहादुर कुँवरले बागी उम्मेदवारी दिएका हुन् ।
तनहुँ–२ मा कांग्रेस उपसभापति रामचन्द्र पौडेलविरुद्ध तरुण दलका केन्द्रीय सदस्य पूर्ण गुरुङले दलबलसहित स्वतन्त्र उम्मेवदारी दर्ता गराएका छन् । कांग्रेसका युवा नेता गगन थापाविरुद्ध काठमाडौं–४ मा पूर्वसभासद् तथा कांग्रेस नेतृ सुप्रभा घिमिरेले बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छन् । कांग्रेसकै अर्का नेता धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रुवालीविरुद्ध कांग्रेसकै फणिकान्त छतकुली, ललितपुर–१ मा तरुण दलका पूर्व अध्यक्ष उदयशमशेर राणाविरुद्ध गणेश केसीले बागी उम्मेवदारी दिएका छन् ।
ओखलढुंगाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसका आधिकारिक उम्मेवदाविरुद्ध दुई जनाले बागी उम्मेवदारी दिएका छन् । ओखलढुंगा–१ मा बालकृष्ण दाहालविरुद्ध पूर्वजिल्ला सभापति महेशकुमार कोर्मोचाले र २ मा रामहरि खतिवडाविरुद्ध पूर्व जिल्लासचिव लक्ष्मी बाँस्कोटा र महासमिति सदस्य अशोक कार्कीको बागी उम्मेवदारी दर्ता भएको छ ।
नवलपरासीका दुई क्षेत्रमा पनि कांग्रेसमा बागी उम्मेदवारी परेको छ । नवलपरासी–३ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलविरुद्ध गुणनिधि तिवारी र क्षेत्र नम्बर ५ मा विक्रम खनालविरुद्ध राधेश्याम पाठकले बागी उम्मेवदारी दिएका छन् । बझाङ–२ मा नरेश सिंहविरुद्ध सत्यराज भण्डारीले बागी दिएका छन् ।
त्यस्तै, अर्को मुख्य दल एमालेमा पनि बागी उम्मेदवारी खडा भएका छन् । ओखलढुंगा–१ मा यज्ञराज सुनुवारविरुद्ध ईश्वर जोशीले, अर्घाखाँची–२ मा दुमन थापाविरुद्ध नारायण बेल्वासेले, सिरहा ६ मा सितादेवी शाहविरुद्ध नेता जागेश्वर यादवले बागी उम्मेवदारी दिएका छन् । त्यस्तै, चितवन २ मा कृष्ण खनालविरुद्ध केशव आचार्यको उम्मेदवारी परेको छ ।

एमाओवादी
धनुषा–१ मा रामचन्द्र झाविरुद्ध श्रवण यादव
बाँके–१ मा महेश्वराज गहतराजविरुद्ध भीमप्रसाद देवकोटा
काभ्रे–१ मा सूर्यमान दोङविरुद्ध तेजेन्द्र पौडेल
कञ्चनपुर–१ मा विना मगरविरुद्ध गगन सिंह
काठमाडौं–३ मा गणेश रेग्मीविरुद्ध गणेश तामाङ
कांग्रेस
– चितवन–४ मा सुशील कोइरालाविरुद्ध विकास कोइराला
– कैलाली–६ मा शेरबहादुर देउवाविरुद्ध गंगाबहादुर कुँवर
– तनहुँ–२ मा रामचन्द्र पौडेलविरुद्ध पूर्ण गुरुङ
– काठमाडौं–४ मा गगन थापाविरुद्ध सुप्रभा घिमिरे
– ललितपुर–१ मा उदयशमशेर राणाविरुद्ध गणेश केसी
– नवलपरासी–३ मा देवेन्द्रराज कँडेलविरुद्ध गुणनिधि तिवारी
– बझाङ–२ मा नरेश सिंहविरुद्ध सत्यराज भण्डारी
– कैलाली–१ मा डा. रणबहादुर रावलविरुद्ध गंगाबहादुर कँुवर
एमाले
ओखलढुङगा–१ मा यज्ञराज सुनुवारविरुद्ध ईश्वर जोशी
अर्घाखाँची–२ मा दुमन थापाविरुद्ध नारायण बेल्वासे
सिरहा–६ मा सीतादेवी शाहविरुद्ध जागेश्वर यादव
चितवन–२ मा कृष्ण खनालविरुद्ध केशव आचार्य

प्रतिक्रिया