करातेमा नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं, १५ असोज । भुटानको थिम्पुमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले थप १३ स्वर्ण जित्दै ऐतिहासिक सफलता हात पारेको छ । यसअघि १० स्वर्ण जितेको नेपालले प्रतियोगितामा कुल २३ स्वर्ण जित्यो । सहभागी सबै नेपाली खेलाडीले स्वर्ण जिते ।

अन्तिम दिन साङ छिरिङ लामाले दुई स्वर्ण जितिन् । उनले क्याडेटतर्फ महिलाको ४५ केजीमुनि र एकल कातामा शीर्षस्थान हात पारिन् । जुनियर महिलाको एकल कातामा सुनीता पहिलो भइन् ।
सिनियरतर्फ एकल काताको पुरुषमा पर्शुराम बास्तोला र महिलामा चञ्चला दनुवार पहिलो भए । टिम काताको पुरुषमा गणेशबहादुर थिङ, केदार सिम्खडा र मन्डेकाजी श्रेष्ठ सम्मिलित नेपाली टोलीले पहिलो स्थान हात पार्‍यो । टिम काताको महिलामा सुभद्रा श्रेष्ठ, संगीता डंगोल र सुमन लामाले स्वर्ण जिते ।
सिनियर पुरुषको ६० केजीमुनि मिलन नेपाली, ७५ केजीमुनि लेखनाथ मैनाली, ५५ केजीमुनि विष्णु श्रेष्ठ तथा ८४ केजीमाथि दिगम्बरप्रसाद पन्तले स्वर्ण चुमे । टिम कुमुतेको नेपाली पुरुष टोली पनि स्वर्ण पदक जित्न सफल भयो ।
महिलाको ७५ केजीमाथि निर्मला राई भारतीय खेलाडीलाई ४–२ ले हराउँदै पहिलो भइन् ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंका गरी पाँच राष्ट्रको सहभागिता रहेको नेपाल कराते महासंघ एवं नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङले जनाएका छन् । टोलीलाई काँकडभिट्टामा भव्य स्वागत गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया