दसैँमा रेखा र विराजको भिडन्त

rekhaचलचित्र प्रदर्शनमा आउनुभन्दा केही साता अघिदेखि नै चलचित्र निर्माण युनिट कम्मर कसेर लाग्छन् । विभिन्न हत्कण्डा मच्चाएर भए पनि उनीहरू चलचित्रलाई चर्चामा ल्याउन खोज्छन् । प्रतिस्पर्धी चलचित्रभन्दा जसरी भए पनि आफ्नो चलचित्र उत्कृष्ट भएको दाबी गर्दै सोहीअनुसार प्रचार शैली पनि अपनाउँछन् । तर, असोज २५ गतेदेखि प्रदर्शनमा आउन लागेका दुई चलचित्रको प्रमुख भूमिकामा नायिका रेखा थापा छिन् । त्यसैले रेखाले कुन चलचित्रको प्रचारमा जोड दिन्छिन्, यो सबैका लागि चासोको विषय बनेको छ । चलचित्र ‘काली’ र ‘दामिनी’ फूलपातीदेखि प्रदर्शनमा आउँदैछन् । कालीलाई वितरणको जिम्मा छविराज ओझाले गर्दै छन् भने दामिनीको वितरणको जिम्मा मनोज राठी समूहले गर्दै छ । दुवै चलचित्रमा प्रमुख भूमिकामा रहेकी नायिका रेखा थापाले कालीकै प्रमोशनमा जोड दिए पनि दामिनीमा रेखाका अलावा नायक विराज भट्टको पनि अभिनय छ । जबकी रेखा र विराजबीच बोलचाल त परको कुरा, पानी बाराबारको स्थिति छ । रेखाकै चलचित्रबाट फिल्मी करियर सुरु गरेका विराज रेखालाई खासै महत्त्व दिदैनन् भने रेखा पनि विराज नेपाली सिनेमामा टिक्न नसकेर पलायन भएको आरोप लगाउने गर्छिन् । त्यसैले पनि काली र दामिनीलाई रेखा भर्सेस रेखा मात्र नभई रेखा भर्सेस विराजको रूपमा अहिले बजारमा चर्चा हुन थालेको छ ।
कालीलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् भने दामिनीलाई सानु शाक्य र मनोज नारायणले निर्देशन गरेका हुन् ।
भोजपुरी चलचित्रमा व्यस्त नायक दामिनीको प्रचारका लागि केही दिनमै नेपाल आउँदैछन् । रेखा र विराजबीचको यो शीतयुद्धमा एकले अर्कालाई कमजोर दाबी गरिरहेका बेला कुन चाहिँ चलचित्रले बजारमा बलियो स्थिति देखाउँछ, त्यसका लागि भने कुर्नै पर्नेछ । दामिनी भोजपुरी चलचित्र भए पनि नेपालीमा डबिङ गरेर प्रदर्शन गर्न लागिएको हो । (सौस)

प्रतिक्रिया