नेपाल तेस्रोपटक एफसी यु–१६ मा

Nepalकाठमाडौं, १४ असोज । नेपाली यु–१६ टोली तेस्रोपटक एएफसी यु–१६ फुटबल प्रतियोगिताका लागि छनोट भएको छ ।

राजधानीमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । त्यसअघि भएको खेलमा बहराइनले इराकलाई २–१ ले हराएपछि नेपालको फाइनल यात्रा सहज बनेको थियो । यो सफलतापछि नेपालले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी युथ च्याम्पियनसिपमा सहभागिता जनाउनेछ ।
समूह चरणमा शीर्षस्थान पाउने क्रममा नेपालले सात अंक जोड्यो भने बहराइन ६ अंकसहित दोस्रो स्थानमा रह्यो । नेपाल यसअघि २००० र २००६ मा अन्तिम चरण प्रवेश गरेको थियो । यसअघि दुवैपटक अन्तिम चरणमा प्रवेश गर्दा कुनै फरवार्डलाई स्टारका रूपमा नपाएको नेपालले यसपटक कप्तान विमल घर्तीमगरको साथ पायो । मगरले ह्याट्रिक पूरा गरेको आइतबारको खेलमा थप एक गोल दिनेश राजवंशीको नाममा रह्यो । विमलले तीन खेलमा चार गोल गरे । २००२ मा काठमाडौंमा भएको छनोट खेलमा पनि नेपालले तुर्किमिनिस्थानलाई ५–२ ले हराएको थियो । सन् २००० मा नेपाल दोस्रो चरणमा प्रवेश गर्दा जीवेश पाण्डेले तीन खेलमा सात गोल गरेका थिए । यसैगरी, २००६ मा नेपाल अन्तिम चरणमा प्रवेश गर्दा चेतन घिमरे नायक बनेका थिए ।
बहराइनको पनि अन्तिम चरण प्रवेश गर्ने सम्भावना जीवितै छ । एएफसीका ४३ सदस्य राष्ट्र १० समू्हमा विभाजन छन् । हरेक समूहका विजेता र पाँच उत्कृष्ट उपविजेताले अन्तिम चरणमा प्रवेश पाउँछन् । एफसी यु–१६ को सेमिफाइनलमा प्रवेश गर्ने चार टिमले यू–१६ विश्वकपमा स्थान बनाउनेछन् ।
नेपाल रहेको समूह ‘सी’ मा इराकले ४ अंक जोड्यो । प्रतियोगितामा तुर्कमेनिस्तान भने अंकविहीन रह्यो ।
तुर्कमेनिस्तानसँगको खेलमा सुरुवातदेखि आक्रामक नेपालका लागि पहिलो हाफको इन्जुरी समयमा विमलले गोल गरे । अमित तामाङले दुई रक्षकलाई छलाउँदै दिएको पासमा उनले सहजै हेड गोल गरे ।
दोस्रो हाफमा त्यत्तिकै आक्रामक रहेको नेपालका लागि ५१औँ मिनेटमा विमलले अर्कोे गोल गरे । यसपटक उनले वैकल्पिक खेलाडी गौरव बुढाथोकीको पास उपयोग गरेका थिए । तेस्रो गोल भने दिनेश राजवंशीको नाममा रह्यो । ७५औँ मिनेटमा उनले प्रहार गरेको बल विपक्षी गोलरक्षकको कमजोरीका कारण गोलमा परिणत भयो । हयाट्रिक पूरा गर्ने क्रममा विमलले ८२औँ मिनेटमा गोल गरे । उनले पहिलो बार च्याप्दै गरेको प्रहार पनि विपक्षी गोलरक्षकले पत्तै पाएनन् ।

प्रतिक्रिया