पाँच करोडको लागतमा पशुस्रोत फार्म

cowबागलुङ, १३ असोज । सहकारीले पाँच करोड रुपियाँको लागतमा यस क्षेत्रकै ठूलो पशुस्रोत विकास फार्म सञ्चालन गरेको छ । जिल्लाको भीमापोखरा –३ मा रहेको डुडेनी भन्ने स्थानमा बाग्लुङ पशुस्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारीले फार्म सञ्चालनमा ल्याएको हो ।

फार्मको नेपाल सरकार पशुसेवा विभागका महानिर्देशक नरबहादुर रजवारले उद्घाटन गर्दै स्थानीय लगानीमा स्थापना गरिएको फार्म देशमै नमुनायोग्य बन्नसक्ने बताए । उनले बाग्लुङ जिल्ला पशुपालनका लागि प्रचूर सम्भावना भएको क्षेत्र भएकाले व्यावसायिक पशुपालनतिर लाग्न किसानलाई आग्रह गरे ।
गत वर्षको जेठदेखि प्रक्रिया थालेर संरचना निर्माणसँगै अन्य व्यवस्थापनका काम सुरु गरेको सहकारीले व्यावसायिक रूपमा दूध उत्पादन र बिक्रीवितरण गर्न थालेको छ । हाल दैनिक १ सय ५० लिटर दूध बजारमा पठाउने उक्त फार्मले आगामी वर्षभित्र दैनिक र लिटर दूध उत्पादनको लक्ष्य लिएको छ । विभिन्न क्षेत्रका ६५ जना सेयर सदस्यको लगानीबाट फार्म स्थापना गरिएको अध्यक्ष कवीन्द्रप्रसाद शर्मा सापकोटा बताउँछन् । न्यूनतम एक हजारको १ सय थान सेयर र अधिकतम २ हजार थानसम्म खरिद गर्नसक्ने गरी करिब पाँच करोडको लागतमा फार्मको सम्पूर्ण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको शर्माले जानकारी दिए ।
सदरमुकामदेखि ११ किलोमिटरको पश्चिममा अविस्थित सो फार्ममा अहिले विभिन्न प्रजातिका गाई र भैँसी गरेर ४५ पशु रहेका छन् । जसमध्ये होलेस्टिक छ, जर्सी गाई २२, कोरली दुई, साना बाच्छी पाँच र स्थानीय गाईसमेत गरी ३७ गाई छन् भने मुर्राक्रस भैँसी दुई, पाराकोटे दुई, र लिमे दुई र पाडी दुई गरी आठ भैँसी रहेका छन् । कुल ५५ रोपनी क्षेत्रफलमा रहेको उक्त फार्मको पहिलो वर्षभित्र तीनवटा गोठ निर्माणदेखि अन्य भौतिक संरचनाका कामहरू सम्पन्न भइसकेका छन् भने बाँकी पूर्वाधार निर्माणका काम यही वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सहकारीले जनाएको छ ।
संरचना स्थलमा ३८ पशु र ३० बाच्छाबाच्छीका लागि पक्की गोठ निर्माणको काम सम्पन्न भइसकेको सहकारीका अध्यक्ष सापकोटाले बताए । ‘थप ६२ पशुहरू राख्ने गोठ निर्माणाधीन अवस्थामा छ, सँगै केही वर्षभित्र थप १ सय पशु राख्न सकिने गरी संरचना निर्माण गर्ने योजना छ ।’ सहकारीले डुडेनीसहित अमरभूमि र अर्गल गाविसमा समेत करिब ३ सय रोपनी जग्गा खरिद गरिसकेको छ ।
हाल फार्म रहेको स्थानमा धानखेती र अन्य नगेदी बालीको साथमा घाँसखेती पनि भइरहेको छ । दस रोपनी क्षेत्रफलमा संरचना निर्माण गरिएको बाँकी क्षेत्रफलमा अन्य उत्पादनका काम भइरहेको अध्यक्ष सापकोटाले बताए ।
फार्म रहेको स्थलदेखि १२ किलोमिटरको दूरीमा पर्ने अर्गल र अमरभूमिको सिमानामा पर्ने जग्गामा फार्मकै लागि आवश्यक पर्ने घाँस उत्पादन गरिने भएको छ । पशुको स्रोतको विकास गरी बिक्रीवितरण गर्ने प्रमुख लक्ष्यका साथ स्थापना गरिएको फार्मले स्थानीय प्रजातिका पशुको प्रर्वद्धन गर्ने जनाएको छ । ‘हामीले पशुको स्रोत विकास गर्ने र बिक्रीवितरणका लागि नमुना फार्म बनाउने लक्ष्य लिएका छौँ’ सहकारीका सचिव युक्त कँडेलले भने । दूध र दूधजन्य पदार्थको उत्पादन गरी बजारीकरण गर्ने लक्ष्यसमेत फार्मको रहेको छ ।
सचिव कँडेलका अनुसार पशुको नश्ल सुधार गर्ने, स्थानीय गाईको प्रवद्र्धन गर्ने, हरियो घाँसमा आधारित उत्पादनमा जोड दिने, गोबर र पिसाबको उचित प्रयोग गरी जैविक तरकारी उत्पादन गर्ने, गोबरबाट बायो ग्यास उत्पादन गर्नेजस्ता कार्यक्रम सहकारीले सञ्चालन गर्ने भएको छ । त्यस्तै, सहकारीले निकट भविष्यमै माछापालन गर्ने योजना पनि बनाएको छ । फार्ममा उत्पादन भएको दूधलाई बाग्लुङ बजारसहित म्याग्दी, पर्वत र कास्कीसम्म निर्यात गरिने सचिव कँडेलले बताए । हाल फार्ममा थप निर्माणको काम धमाधम भइरहेको छ ।
बिरामी पशुका लागि छुट्टै गोठको व्यवस्था गरिएको छ । त्यस्तै उपचारका लागि मिनी डिस्पेन्सरीको व्यवस्था गरिएको छ । फार्म सञ्चालनमा आएपछि तत्कालका लागि पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । दूध ढुवानी गरेर बजारसम्म पुर्‍याउन सडकको स्तरीकरण गरिनुपर्ने, थ्रिफेज विद्युत् लाइनको व्यवस्था हुनुपर्ने, दुई हजार लिटरको चिलिङ भ्याटलगायत वस्तु तथा सेवाको आवश्यकता परेको सहकारीले जनाएको छ ।
जिल्लामै नमुना फार्म सञ्चालनमा आएपछि स्थानीय किसान पनि हौसिएका छन् । फार्मलाई देशमै नमुना फार्मका रूपमा विकास गर्न दीर्घकालीन योजना बनाएर काम गरिने सहकारीले बताएको छ ।

प्रतिक्रिया