“माओवादीले बिपी सम्झिए, हामीले बिर्सियौँ”

Khuman-Shing-Gurungउनका अधिकांश समकालीन साथीहरू अहिले बेलायतमा छन् । उतैको नागरिक बनेका छन् साथीहरू, अनि बेलायतको जीवन शैलीसँग अभ्यस्त हुँदै गएका छन् । तर, उनलाई भने बेलायतको मोहले कहिल्यै तानेन् । आफू जन्मेको देशभन्दा प्यारो अर्को देश बेलायत लागेन उनलाई । बेलायतको भौतिक सुख–सयलभन्दा यहाँकै माटोले उनलाई मोहनी लगायो । त्यसैले उनले साथीहरूको सल्लाहलाई बेवास्ता गर्दै स्वदेशमै बस्ने र देशको सेवामा समर्पित हुने संकल्प गरे ।
उनी, अर्थात् भूतपूर्व बेलायती गोर्खा सैनिक, हुन् खुसीमान गुरुङ
बेलायती सेनामा कार्यरत रहँदा उनले धेरै देश घुमे तर उनलाई नेपाल नै सुन्दर लाग्छ रे । उनी भन्छन्, ‘कामको सिलसिलामा बेलायत, अमेरिका, न्युजिल्यान्ड, अष्ट्रेलिया, कोरिया, हङकङ, सिंगापुरलगायतका धेरै देशमा पुगियो नि । ती देश भौतिक विकासमा धनी छन् तर नेपाल प्रकृतिले नै सम्पन्न देश छ ।’
उनको बुझाईमा नेपालको अस्थिर राजनीतिकै परिणाम देशले विभिन्न दुर्दशा भोग्नुपरेको हो । राजनीतिमा सक्षम र योग्य व्यक्ति आए नेपालको विकासका लागि धेरै समय कुर्नु पर्दैन । त्यसैले पनि उनले लाहुरेबाट अवकास पाएपछि पूर्णरूपमा राजनीतिमै केन्द्रित हुने निर्णय गरे । वि.स. २०५१ सालमा लाहुरे जीवनबाट अवकास पाएका थिए गुरुङले । अनि त्यसपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भए । उसो त ब्रिटिस आर्मीमा भर्ना हुनुअघि नै गुरुङ कांग्रेससँग आबद्ध थिए । वि.स. २०३५ सालमा गुरुङ लमजुङको बागेश्वरी माविको नेविसंघ एकाई अध्यक्ष बनिसकेका थिए । गुरुङ भन्छन्, ‘मेरो पारिवारिक पृष्ठभूमी नै कांग्रेस हो । मेरो बुबा कांग्रेसबाट जिल्ला विकास समिति सदस्य हुनुहुथ्यो । म बुबाकै कारण कांग्रेस बनँ ।’
उनी जति बेला नेविसंघको एकाई अध्यक्ष बने त्यतिबेला विद्यार्थी आन्दोलनले पञ्चायती व्यवस्थालाई नै हल्लाई दिएको थियो । दलहरूमाथि प्रतिबन्ध लागेको बेला विद्यार्थी संगठनहरूमार्फत नै दलहरूले आफ्नो राजनीतिक संगठन विस्तार गरिरहेका थिए । गुरुङले पनि २०३५ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी बने र २०३६ सालको जनमत संग्रहमा बहुदललाई जिताउन जिल्लामा लागि परे । गुरुङ समुदायमा लाहुरेको प्रचलनले उनलाई पनि लोभ्यायो । लगत्तै उनी लाहुरे बने ।
‘म लाहुरे बने पनि कांग्रेसको राजनीतिक सिद्धान्त कहिल्यै छोडिन्, म जहाँ गए पनि कांग्रेस मेरो मनबाट कहिल्यै हटेन,’ गुरुङ भन्छन्, ‘बिदामा घर आउँदा पार्टीको सम्पर्कमा आइरहन्थे र कांग्रेसको अवस्थाका बारेमा चासो व्यक्त गर्थे ।’ लाहुरे हुँदा पनि राजनीतिक विचारप्रति इमान्दार गुरुङले अवकास पाएकै वर्ष नेपालमा मध्यावधि निर्वाचन हुन लागेको थियो । उनले उक्त निर्वाचनमा तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराईको क्षेत्रमा चुनावी प्रचार–प्रसारमा लागे । वि.स. २०५३ सालमा गुरुङकै सक्रियतामा नेपाली जनसम्पर्क समिति हङकङको स्थापना भयो । उनी त्यसका संस्थापक सभापति बने । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूलाई हङकङ बोलाएर विदेशमा समेत संगठन विस्तार गरे ।
Khuman-Shing-Gurung-n-Girijहङकङ धेरै नेपालीहरूको बसोबास भएको देश हो । नेपाली दूतावास नहुँदा धेरै नेपाली दु:ख पाउन थालेपछि गुरुङकै सक्रियतामा हङकङमा दूतावासको पनि स्थापना भयो । उनी यसलाई आफूले गरेको एक महत्त्वपूर्ण सत्कार्य भएको बताउँछन् । ‘जीवनमा धेरै काम गरिए तर यो पनि ठूलै काम थियो नि । दूतावास भएपछि नेपालीहरूका लागि निकै सहयोग भएको छ ,’ गुरुङ विगत सम्झन्छन् ।
कांग्रेसको राजनीतिमा सक्रिय गुरुङ पछिल्लो समय पार्टीमा अनुशासनको कमी हुँदै गएको र नेतृत्वलाई नै नमान्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्तित छन् । ‘कोही कसैलाई सम्मानै गर्दैन, पार्टीमा सिनियर जुनियर भन्ने हुन्छ । तर, सबै ठालु बन्न खोज्छन् । यस्तो पनि हुन्छ कतै,’ आक्रोशित मुद्रामा गुरुङ भन्छन्, ‘प्रजातन्त्रमा सबैको सम्मान हुन्छ नि । यहाँ कोही कसैको अस्तित्व नै स्वीकार गर्दैन ।’
पार्टीभित्र इमान्दार, निष्ठावान र अनुशासित कार्यकर्ताका रूपमा चिनिन्छन्, गुरुङ । संविधानसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम सिफारिस हुने क्रममा लमजुङ क्षेत्र नम्बर १ बाट उनको नाम प्रत्यक्षमा सिफारिस भएको छ । त्यो पनि पहिलो नम्बरमा नै । आफ्नो कार्यमूल्याकंनकै आधारमा क्षेत्रले १ नम्बरमा नाम सिफारिस गरेको बुझाई छ उनको । आफूले कुनै पनि पदमा नरहदासमेत जिल्लाको विकासका लागि सक्रिय भूमिका निभाउँदै आएकोले त्यसको मूल्यांकन भएको गुरुङको दाबी छ । जिल्लाबाट १ नम्बरमा सिफारिस भएका उनले टिकट पाउलान् त ? गुरुङसँग स्पष्ट जवाफ छैन । उनी भन्छन्, ‘मैले अहिलेसम्म पार्टीका लागि गरेको योगदानको कदरको सम्मान स्वरूप जिल्लाबाट मेरो नाम सिफारिस भएको हो । हेरौँ केन्द्रले कसरी मूल्याकंन गरेको रहेछ । तर, मलाई विश्वास छ केन्द्रले मलाई नै टिकट दिन्छ ।’
टिकटका आकांक्षीहरू धेरै भएकाले शीर्ष नेताहरूलाई प्रलोभनमा पारेर र दबाब दिएर टिकट आफ्नो हातमा पार्नेहरू पनि छन् । टिकट वितरण गर्दा नेताहरूले गोजीबाट उम्मेदवार निकाल्ने प्रवृत्ति कांग्रेसमा पनि रहेको उनी स्वीकार गर्दै भन्छन्, ‘स्थानीय तहमा क्रियाशील र योगदान दिएको कार्यकर्ताभन्दा नेताहरूले आफ्नो चाकडी गर्नेलाई नै टिकट दिने गरेको विगतका उदाहरणहरू छन् । तर, पार्टीले त्यस्तो गल्ती यस पटक दोहोर्‍याउँदै कि ।’
चुनाव एउटा खेल हो । उत्कृष्ट लयमा रहेको खेलाडीले पनि अस्वभाविक रूपमा खेल गुमाउन सक्छन् । यही नियम चुनावमा पनि लागू हुन्छ । अघिल्लो निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल दुई ठाउँबाट चुनावमा पराजित भए । कांग्रेस सभापति सुशील कोइराला पनि चुनावमा हारे । कांग्रेस एमालेका धेरै शीर्ष नेताहरूले चुनाव गुमाए । यस कारण पनि निर्वाचनमा टिकट पाउनु मात्रै ठूलो कुरा होइन् । जित्नु महत्त्वपूर्ण कुरा हो । लमजुङ १ बाट प्रत्यक्षमा सिफारिस गुरुङ आफ्नो निर्वाचन क्षेत्रमा ६० प्रतिशत गुरुङ समुदायको बाहुल्य रहेको र ८० प्रतिशत जति त ब्रिटिस लाहुरे भएकाले आफूले टिकट पाए सजिलै जित्ने दाबी गर्छन् । ‘जिल्लामा धेरैले मलाई सहयोग गछौँ भनेका छन् । फरक पार्टीसँग निकट नेता तथा कार्यकर्ताहरूले तपाईंले टिकट ल्याउनुहोस् हामी तपाईलाई जिताउँछौँ भनेका छन्,’ उनी भन्छन्, ‘फेरि सबैलाई मिलाएर लैजान सक्ने क्षमता पनि ममा छ नि ।’
चुनावका बेला मिठामिठा कुरा गरेर जनतालाई झुक्याउने र चुनाव जितिसकेपछि गाउँ नै नफर्किने गर्छन् नेताहरू । चुनावपछि आफ्नो र पार्टीका लागि मात्र सोच्ने नेताहरूको प्रवृत्तिको गुरुङ विरोध गर्छन् । उनी भन्छन्, ‘मैले प्रष्ट रूपमा मेरो निर्वाचन क्षेत्रका जनतालाई भनेको छु । मैले अब कसका लागि कमाउने ? सम्पत्ति नै चाहेको भए म नेपाल किन बस्थे ? बेलायतमा बसेर सुखी साथ बस्थे नि । मेरो एउटा छोरी हो, त्यसले ब्रिटिस लाहुरेसँग बिहे गरेकी छिन् । उनी उतै बस्छिन् । हामी बूढाबूढी मात्रै त हो नि । त्यसैले मलाई अरू थपकमाउने कुनै लोभ नै छैन । जति कमाउँछु गाउँकै विकासमा खर्च गर्छु ।’ उनले अगाडि भने, ‘निर्वाचन जितेपछि मैले पाउने सबै सरकारी भत्ता जिल्लाको विकासमै खर्च गर्छु । यो प्रतिबद्धता म जनतासँग गर्छु ।’
आदिवासी जनजातिका नाममा जातीय राज्यको माग जबर्जस्त उठिरहेका बेला त्यही समुदायकै उनी भने यसलाई अस्वीकार गर्छन् । ‘जातिको आधारमा राज्य विभाजन गर्ने हो भने नेपालमा एक सय दशभन्दा बढी जात छन्, कसरी सबैलाई राज्य दिन सकिन्छ ? यो असंभव माग हो । यसले देशलाई दीर्घकालीन असर पुर्‍याउन सक्छ ।’ गुरुङ भन्छन्, ‘त्यसैले आदिवासीका तर्फबाट संविधानसभामा आफ्ना विचारहरू राख्न पनि जातीय राज्यको विपक्षमा रहेका हामीहरू त्यहाँ पुग्न जरुरी छ ।’
कस्तो संघीयता हो त तपार्इंले भनेको भन्ने जिज्ञासामा उनले भने, ‘देश सुहाउँदो संघीय राज्य हुनुपर्छ, सामथ्र्य र पहिचाका आधारमा संघीय राज्य भयो भने त्यो दीगो हुन्छ, धेरै राज्य हुनुभन्दा पनि थोरै तर बलियो राज्य हुनु उत्तम ।’
राजनीतिमा इमान्दारिता र नैतिकता खस्कदो छ । राजनीतिको आवरणमा अपराध गर्नेहरू पनि धेरै छन् । मन्त्री प्रधानमन्त्री भइसकेका व्यक्तिहरू पनि भ्रष्ट्राचारमा दोषी ठहरिँदै जेलको चिसो खान विवस छन् । ‘राजनीति त एउटा सेवाभाव हो । यो कमाई खाने भाँडो होइन्,’ गुरुङ भन्छन् ‘तर यहाँ त राजनीति गर्नेहरू मोटाउँदै गएका छन् । तर, काम गरी खानेहरूलाई हात मुख जोड्न नै मुस्किल छ ।’ राजनीतिमा गलत मान्छेहरूको प्रवेशले नै नेपाल यस्तो अवस्थामा पुगेको उनको ठम्याई छ । ‘यहाँ देशभन्दा आफूले कसरी सात पुस्तालाई पुग्ने सम्पति कमाउने भन्नेमा नै सबैको चिन्ता छ, जसरी हुन्छ पैसा कमाउनुपर्‍यो र रातारात करोडपति बन्नुपर्‍यो ।’ उनी भन्छन्, ‘देश कंगाल बने पनि कसैलाई मतलब छैन ।’ राजनीतिमा आउनुभन्दा पहिला आर्थिक रूपमा सबल हुन उनको सुझाव छ । ‘कि व्यवसाय सँगसँगै राजनीति गर्नुपर्‍यो होइन भने त आर्थिक रूपमा सबल नभएसम्म राजनीति नगरेकै बेस,’ उनको राजनीति गर्न चाहनेहरूलाई सुझाब छ ।
गुरुङसँग के योजना छ त देश विकासका लागि ? उनले भने, ‘नेपालको विकासमा तीनवटा कुरामा जोड दिए पुग्छ । पर्यटन, जलविद्युत् र जडिबुटी । यी तीन क्षेत्रमा राज्यले लगानी बढाउने हो भने नेपालीहरूले सुतीसुती यससँग खान पुग्छ । विदेशमा युवाहरू पठाउनुभन्दा उनीहरूलाई देशभित्र रोजगारको सिर्जना गर्नेतर्फ राज्यले सोच्नुपर्छ ।’
नेपालको भ्रमणमा आएका उनका धेरै चिनेका साथीहरूले नेपाल जस्तो सुन्दर देश विश्वमै नभएको भनेर भ्रमणको अनुभव सुनाउँदा त उनलाई गर्व लाग्छ । तर, पर्यटन विकासमा सोचेजस्तो देशले फड्को मार्न नसक्दा भने उनलाई निकै पीडा हुँदो रहेछ । ‘तपाईं नै भन्नोस् त, तराईमा हरियाली फाँट छन्, चुरे क्षेत्र वनले घेरिएको छ, हिमालहरू कति मनमोहक छ नेपाल तर के गर्ने खै पर्यटनको ओइरो लाग्नुपर्ने हो नि नेपालमा, छैन नि,’ उनी भन्छन्, ‘जलस्रोतको विश्वकै धनी देश तर बिडम्बना विजुली अर्काको देशबाट किनेर बत्ती बाल्नुपर्ने अवस्था छ ।’ त्यसैले उनको निष्कर्ष हो, अब राजनीतिका कुरा मात्र धेरै नगरौँ, अब आर्थिक क्रान्तिमा जोड दिनैपर्छ ।
करिब चार दशकदेखि कांग्रेसको इमान्दार कार्यकर्ताका रूपमा क्रियाशील गुरुङल कहिले काँही पार्टीप्रति पनि चित्त नबुझ्ने गरेको तीतो यथार्थ सुनाउँछन् । ‘बिपी कोइरालालाई हामी महामानव भनेर पूजा गर्छौं । उनकै नाम लिएर कांग्रेस अहिलेसम्म अस्तित्वमा छ । तर, के कांग्रेसले बिपी नीतिहरू अख्तियार गरेको छ त, उनी प्रश्न गर्दै भन्छन्, ‘हामी वर्षेनी बिपीको फोटोमा माल्यार्पण त गछौँ । तर, उनका आदर्श र सिद्धान्तलाई भने बिर्सिदै गएका छौँ ।’
बिपी सरकारले अगाडि बढाएको आर्थिक क्रान्तिको मोडल नै कांग्रेसले बिर्सिएको उनी बताउँछन् । पार्टी समायानुकुल बिपीको आर्थिक क्रान्तिको मोडललाई परिमार्जित गर्दै अगाडि बढ्न नसकेको गुरुङ उल्लेख गर्छन् । ‘माओवादीले बल्ल २०७० सालमा आएर आर्थिक क्रान्तिको कुरा गरेको छ । तर, बिपीले २०१५ सालमै आर्थिक विकासमा जोड दिएका थिए । गुरुङ भन्छन्, ‘माओवादीले बिपी सम्झियो तर हामीले भने बिर्सियौँ ।’
नेतृत्वलाई गुरुङको सुझाब छ, ‘बीपी साँच्चिकै महामानव हुन् । त्यसैले अझै ढिलो भएको छैन । बिपीकै बाटोमा हामीअगाडि बढे कांग्रेस फेरि जनताबीच लोकप्रिय बन्न सक्छ । बिपीका पालामा दुई तिहाई आएको कांग्रेस आसन्न संविधानसभामा बहुमतमा आउन सक्छ । नेतृत्वले बेलैमा सोचोस् ।’
प्रस्तुति : राजेन्द्र भण्डारी

प्रतिक्रिया