बुटवल : नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत रूपन्देही जिल्लाभित्रका सीमास्तम्भको मर्मतका लागि ११ लाख ७३ हजार अर्थ मन्त्रालयसँग बजेट माग गरिएको छ ।
स्थानीय प्रशासनकले दुई देशबीचका प्राविधिकसहितको सुरक्षा अधिकारीको टोलीले स्थलगत अध्ययन गरी उक्त लागत खर्च निकालेका हुन् । जिल्लामा अहिलेसम्म भेटिएका ३६ वटै सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।
त्यस्तै भारतीय प्राविधिक टोलीले पनि आफ्नो छुट्टै लागत अनुमान निकाली सरकारसँग माग गरेको छ । दुवै देशका सरकारले माग गरिएको बजेट विनियोजन गरेपछि संयुक्तरूपमा सीमास्तम्भको मर्मत कार्य अगाडि बढाइने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए । उनका अनुसार ३६ वटा सीमा स्तम्भमध्ये नौ वटा जीर्ण, सातवटा सोभन्दा कम र २० वटा सामान्य मर्मत गर्नुपर्ने अवस्थामा छन् । सीमास्तम्भको सुरक्षा, मर्मतलगायतका काम दुवै देशले संयुक्तरूपमा गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार आ–आफ्नो सरकारलाई छुट्टाछुट्टै अनुमानित लागत खर्च निकाली बजेट निकासका लागि माग गरिएको प्रजिअ पन्थीले बताए ।
नापी विभागको स्तम्भ नम्बरअनुसार जिल्लामा रहेका ५१८, ५४१, ५११, ५१३, ५२१, ५२२/२, ५२२/३, ५२२/५ र ५२८ बी नम्बरका सीमास्तम्भ जीर्ण छन् । तीबाहेक अन्य सीमा स्तम्भ रंगरोगन तथा सामान्य मर्मत गरे पुग्ने अवस्थामा रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रूपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताए ।
सीमा सुरक्षा बल एसएसवी पहिलो बटलियन प्रमुख खेम सिंह बानकोटीले पनि स्थलगत अध्ययनपछि बजेट निक्यौल गरी सरकारसँग पठाइएको जानकारी दिँदै छिट्टै मर्मतको काम सुरु हुने बताए ।
भदौको अन्तिम साता गरिएको स्थलगत निरीक्षणमा रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहको नेतृत्वमा र भारतका तर्फबाट महाराजगन्ज जिल्लाका एसडिएम शाहव लाल, सीमा सुरक्षा बल एसएसवी पहिलो बटलियन प्रमुख बानकोटीसहितको विभागीय प्राविधिक टोली खटिएको थियो । उक्त टोलीले दुई दिनमा सबै स्तम्भको नापजाँच गरी लागत खर्च निकालेको सशस्त्र प्रहरी उपरीक्षक शाहले बताए । सौस)
प्रतिक्रिया