विपीका विरामीको अस्पताल बाहिर ल्याब टेस्ट

धरान, १२ असोज । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जारी गरेको नियमविपरीत केही चिकित्सकले आर्थिक प्रलोभनमा परी प्रतिष्ठानबाहिर विभिन्न जाँच गराउने गरेको खुलासा भएको छ ।

प्राविधिक गडबडी भई सेवा अवरुद्ध भएको अवस्थामा बाहेक प्रयोगशाला परीक्षण प्रतिष्ठानमै गर्नुपर्ने, अन्यत्र गरिआएका जाँचको रिपोर्ट भए मान्यता नदिई उपचार अघि नबढाउने नियम प्रतिष्ठानले लागू गरेको थियो । नियमविपरीत केही चिकित्सकले बिरामीलाई बाहिर पठाउने गरेको जनगुनासो बढेपछि प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजले अनुगमन सुरु गरेको समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए ।
अनुगमनका क्रममा प्रतिष्ठानका सर्जरी विभाग प्रमुख प्रा.डा. सिएस अग्रवालले धरान–१५ निवासी विनोद श्रेष्ठलाई रगत जाँच गराउन बूढासुब्बा डाइग्नोस्टिक सेन्टर र एक्स–रे तथा आइयुभी गराउन धरान पठाएको पाइएको तामाङले बताए । पीडित श्रेष्ठका अनुसार डा. अग्रवालले प्रतिष्ठानमा ढिलो हुने र रिपोर्ट गुणस्तरीय नहुने भन्दै सबै बिरामीलाई बाहिरका सेन्टरको नाम तोकेरै पठाउने गरेका छन् । चिकित्सकको यस्तो व्यवहारबाट अनावश्यक दु:ख पाएको गुनासो छ । डा. अग्रवालले दर्वेसा–८, मोरङका जेजिस सोरेनलाई पनि बुढासुब्बामै रगत जाँच गर्न पठाएकोमा पीडित सोरेन समयमै आफूहरूको सम्पर्कमा आएकाले प्रतिष्ठानमै जाँच गराउन सफल भएको तामाङले बताए ।
अनुगमनका क्रममा धरान–१६ का हर्कमाया रम्जेललाई फेमिली मेडिसिन विभागका डा. प्रमिन्द्रप्रसाद गुप्ताले बुढासुब्बामै रगत जाँच गराउन पठाएको पाइएको थियो । बाहिरका प्रयोगशालामा जाँच महँगो पर्ने र अनावश्यक दौडधुप पनि गर्नुपर्ने भएकाले बिरामीले सास्ती व्यहोर्नुपरेको छ । पीडित, कर्मचारी कल्याण समाजको अनुगमन टोली र सञ्चारकर्मी कार्यस्थलमै गई बुझ्दा डा. गुप्ताले भूल स्वीकार गरेका थिए । अब कहिल्यै यस्तो कार्य नगर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
समाजका अनुसार यसअघि ३१ साउनमा गरिएको अनुगमनमा डा. अग्रवालसहित प्रतिष्ठानका डाक्टर निकेश श्रेष्ठ, जितेन्द्र झा, ध्रुवचन्द्र थापा, अजय अग्रवाल, जिएल झा, श्याम गुप्तालगायतले बिरामीलाई बाहिर पठाउने गरेको पाइएको थियो । समाजले सुरु गरेको अनुगमन अभियान सफल बनाएरै छाड्ने अध्यक्ष तामाङको भनाइ छ । समाज र व्यवस्थापनले पटक–पटक सचेत गराउँदासमेत व्यवहार सुधार नगर्ने चिकित्सकमाथि व्यवस्थापनले कारबाही नगरे समाज आफँैले कारबाही गर्ने उनले बताए ।
बिरामीका लागि सुलभ एवं सहज उपचारका लागि प्रतिष्ठानमै ल्याब टेस्ट, इको, इन्डोस्कोपी, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड तथा एक्स–रे सेवा पर्याप्त छन् । यति, हुँदाहुँदै बिरामीलाई बाहिर पठाउने चिकित्सकको गतिविधिले प्रतिष्ठानको आम्दानी ह्रास हुँदै गएको र आर्थिक अभावमा प्रतिष्ठानको सञ्चालनमा कठिनाइ उत्पन्न भएको समाजले जनाएको छ ।

प्रतिक्रिया