भावी प्रधानमन्त्रीमा कमल थापा प्रस्तावित

Kamal-Thapaकाठमाडौं, ११ असोज । राजसंस्था र हिन्दू राज्यको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अध्यक्ष कमल थापालाई रिजर्भमा राखेर उम्मेदवारहरुको घोषणा गरेको छ ।
राजधानीमा आज (शुक्रबार) विशेष कार्यक्रम गरेर उम्मेदवारहरुको सूची घोषणा गरिएको प्रचार–प्रसार समितिका संयोजक राजाराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार १ सय ९६ निर्वाचन क्षेत्रमा पार्टीबाट चुनाव लड्ने उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।
सह–अध्यक्ष पदमसुन्दर लावती पाँचथर–२, उपाध्यक्ष राजीव पराजुली पर्सा–२, डा.धवल शमशेर राणा बाँके–३, महामन्त्री चन्द्रबहादुर गुरुङ स्याङजा–१, सहायक महामन्त्री भरत जंगम काठमाडौं–१ बाट उम्मेदवार बनेको श्रेष्ठले बताए ।
बाबुकाजी प्रधान ललितपुर–३, बृजलाल यादव बारा–४, मनोज मल्ल धनुषा–६, मीनबहादुर सिंह–७, पूर्व मेयर ध्रुव महर्जन काठमाडौं–१०, चलचित्रकर्मी उद्धव पौडेल काठमाडौं–४ र मीना राणा काठमाडौं–३ बाट चुनाव लड्ने छन् । अध्यक्ष थापासहितका केही शीर्ष नेताहरुको उम्मेदवारी पछि घोषणा गरिने छ ।
राष्ट्र प्रमुखमा संवैधानिक राजसंस्था र कार्यकारी प्रमुखमा जनताबाट निर्वाचित प्रधानमन्त्री हुनुपर्ने राप्रपा नेपालको शासकीय स्वरुप छ । २ सय ७ सदस्यीय जनप्रतिनिधी सभा र ६० सदस्यीय राष्ट्रिय सभासहितको दुई सदनात्मक व्यवस्थाको प्रस्ताव गरिएको संयोजक श्रेष्ठको भनाई छ ।
यसैबीच, राप्रपा नेपालले अध्यक्ष थापालाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको छ ।

प्रतिक्रिया