उपभोग्य सामानको हाहाकार

Bajura-Khaddhannaबाजुरा ११ असोज । दोस्रो व्यापारिक केन्द्रका रूपमा चिनिने कोल्टी बजारमा दैनिक उपभोग्य सामानको अभाव चर्केको छ ।

दसैँ र तिहार नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य सामानको हाहाकार भएको हो । कोल्टी बजारमा आउने हजारौँ सेवाग्राही खाली हात घर फर्कन बाध्य भएको स्थानीय रामजंग शाहीले बताए । दसँै नजिकिँदै गर्दासमेत आफूले भनेजस्तो सामान नपाउनु र त्यसमाथि पनि मूल्य तिरिनसक्नु गरेर वृद्धि भएको उनको गुनासो छ ।
सदरमुकामसम्म पनि यातायात सेवा सुचारु नहुँदा जिल्लाका मार्तडी, कोल्टी, पिलुचौर, काबाडीलगायत बजारमा दैनिक उपभोग्य सामानमा हाहाकार सिर्जना भएको छ । गत असारदेखि यातायात सेवा सुचारु हुन नसक्दा यी बजारमा आवश्यक सामानको अभाव भएको हो । बजारमा सामान ढुवानी हुन नसक्दा उपभोक्ताले सास्ती खेप्नु परेको कोल्टी बजार व्यवस्थापन समितिका कपुर शाही बताउँछन् । शाहीका अनुसार बजारमा सामान सकिसकेको छ । उनले भने, ‘गाडी चल्दैनन्,  हामीले सामान ढुवानी गर्न सकेका छैनौँ ।’
नेपालगन्जबाट विमानमा ल्याएको सामान महँगो नै हुने गरेको उनको जिकिर छ । बजारमा अहिले  दैनिक उपभोग्य सामान दाल, चामल, तेल, चिनीलगायत वस्तुको चरम अभाव सिर्जना भएको छ । गत वर्षको असोज पहिलो साताभित्र सदरमुकाम मार्तडी पुगेको ट्याक्टर सेवा अहिले मार्तडीसम्म पनि सञ्चालन नहुँदा आफ्नो खरिद गरेको सरसामान पनि तिपाडाको गोदामा नै थन्किएको व्यापारीको भनाइ छ ।
दसँै मनाउने चामलसमेत नहँुदा  जिल्लावासीको यसपालीको दसँै मनाउने आशा आशामै सीमित हुने संकेत देखिएको छ । वर्षायामले सडक बाटो भत्काएपछि साँफे मार्तडी सडक खण्डअन्तर्गत बीचमा पर्ने बूढीगागाको नदीमा बढेको पानीको बहावसँगै अहिलेसम्म सदरमुकाममा ट्याक्टर सेवा संचालनमा आउन सकेको छैन । ‘जिल्लाका स्थानीय बजारमा चाहेको सामान पाइँदैन, कसरी यसपालीको दसैँतिहार मनाउने’ स्थानीयवासीले गुनासो गरे । अर्कोतिर किसानले असारमा मानु लगाएर मुरी भित्र्याउन उद्देश्यले लगाएको बर्खे बालीेमा विभिन्न रोग लागेर बोटमै नष्ट भइसकेको छ ।  यसपटकको दसैँमा आफूहरू दोहोरो मारमा परेको उनीहरूले बताए ।

प्रतिक्रिया