विकास योजना प्रभावकारी नभएको गुनासो

दैलेख : नारायण नगरपालिकाले समुदाय स्तरबाट आउने योजनाहरूको काम प्रभावकारी नभएको भन्दै नगरवासी सेवाग्राहीहरू आक्रोशित भएका छन् ।
नारायण नगरपालिका, नगरपालिका संघ र द एसिया फाउन्डेशनद्वारा संयुक्त रूपमा आयोजित टाउन हल मिटिङ कार्यक्रममा सोमबार नगरवासी विकास निर्माण काम गुणस्तरहीन र प्रभावकारी नभएको भन्दै कडा रूपमा प्रस्तुत भएका थिए ।
आयोजकले कार्यक्रममा नगरपालिकामार्फत गरिएको विकास निर्माणको काम राम्रो र नराम्रो समीक्षा गर्ने उद्देश्य लिए पनि सुरुमै सहभागी सेवाग्राही कार्याकारी अधिकृतप्रति खनिएका थिए । असारमा सकिनुपर्ने विकास योजनाहरू अहिलेसम्म लथालिंग अवस्थामा रहेको र सम्पन्न योजनाहरू पनि गुणस्तरहीन प्रभावकारी नभएको भन्दै आक्रोशित भएका हुन् । नगरमा सम्पन्न गरिएका विकास आयोजनामा कमिशन बाँडेर गुणस्तरहीन काम गरेको सहभागीहरूले आरोप लगाएका छन् ।
छातिकोट विद्युतीकरण योजनामा उपभोक्ताले ठेकेदारलाई कामको जिम्मेवारी दिएर गुणस्तर हिन काम गरेको नपा–२ का दीपक सिजापतीले बताए । नगरपालिका गुणस्तरहीन योजनाका बारेमा बुझ्न सूचना माग गर्दा समेत नदिने गरेको सिजापतीको गुनासो छ । वजारको सडक अस्तव्यस्त हुनु, बिजुलीका तार अव्यवस्थित हुनु, उपभोक्ताद्वारा गराइएका योजना कमिसनमा ठेकेदारलाई दिनु, व्यक्तिलाभ केन्द्रित योजना पास गरी नागरिक वडा मञ्चलाई देखाउने दाँत बनाउने गरेको नागरिक समाजका अगुवा भूपेन्द्र शाहीले बताए । प्राविधिकहरूले १० प्रतिशत कमिसन लिनु र नगरपालिका स्वेच्छाचारी ढंगले चलेको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए ।
त्यस्तै, पूर्वाधारविनै घोषणा भएको नगरपालिका १७ वर्ष पार गरिसक्दा पनि उस्तै अवस्थामा रहेको समाजसेवी यामबहादुर मल्लले बताए । उनले भने, ‘योजना कागजमा मात्र राम्रा गर्ने भएकाले अहिलेसम्म नगरपालिकाको पूर्वाधार खडा नभएको हो ।’ नगरपालिका आफैँले राम्रो काम गरेको एउटा पनि उदाहरण दिन नसक्ने सहभागी नगरबासीको भनाइ रहेको थियो । नारायण नगरपाकिलकाका कार्यकारी अधिकृत गगनबहादुर विक र सहभागी नगरवासीबीच केहीबेर योजनाको विषयलाई लिएर चकाचर्की समेत भएको थियो । सहभागी नगरवासीले कार्यकारी अधिकृत विकेको कार्यशैलीप्रति आक्रोश पोखेका थिए ।

प्रतिक्रिया