बाजुरा, १० असोज । ०५८ सालमा नेकपा माओवादीले ध्वस्त बनाएको जुकोट गाविसको विद्युत्गृह पनि पुनर्निर्माण हुन नसक्दा स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् ।
०४७ सालमा जुकोटवासीले स्थानीय पहलमा २० वाट क्षमताको विद्युत्गृह बनाएका थिए । तर, माओवादीले द्वन्द्वकालमा सो विद्युत्गृह नष्ट गरेदेखि जुकोटवासी अँध्यारोमै छन् । नयाँ निर्माण पुराना ध्वस्त भन्दै आएका माओवादीले ध्वस्त पारेको १२ वर्ष भइसक्दासमेत विद्युत्गृह निर्माणमा कुनै पहल नगर्दा स्थानीय बासिन्दा निकै आक्रोशित भएका छन् । माओवादी त कुरै छाडाँै अन्य निकायले समेत कुनै वास्ता नगरेकामा उनीहरूको गुनासो छ ।
बत्ती ध्वस्त पारेकै कारण माओवादीलाई आउँदो संविधानसभाको दोस्रो चुनावमा जुकोटका कुनै पनि जनताले भोट नदिन बताएका छन् । आºनो पार्टी सरकारमा गएपछि बत्ती मात्र नभई गाउँलाई स्वर्ग बनाउँछौँ भन्दै हिँडेका माओवादी सरकारमा गएपछि भने सबै कुरा बिर्सने गरेको उनीहरू बताउँछन् ।
विद्युत्गृह ध्वस्त पारेको १२ वर्षसम्म पनि यसबारे कसैले चासो नदेखाएको स्थानीयको गुनासो छ । बत्तीका कारण त्यस गाउँका जनताले नेपाल सरकारले दिएको कर्णाली उज्यालो कार्यक्रमबाट समेत वञ्चित हुनुपरेको छ । जुकोटवासीले न बत्तीको सम्भावना पाएका छन् न त अन्य सुविधा नै †
उनीहरू जुकोट गाविसका जनतालाई राज्यले समेत सौतेनी व्यवहार गरेको दुखेसो व्यक्त गर्छन् । अँध्यारोकै कारण बालबालिकाको शिक्षामा समेत समस्या परेको छ, एकातिर अँध्यारोमा बस्नुपरेको र अर्कातिर छोराछोरीको शिक्षामा समस्या भएपछि उनीहरू अहिले आक्रोशित हुन चालेका छन् । त्यसैले उनीहरू अहिले माओवादीलाई भोट नहाल्ने मनस्थितिमा पुगेका छन् ।
स्थानीय दल शाही भन्छन्, ‘हाम्रो सरकार आएको एक महिनाभित्र सबै बनाइदिने वाचा गरेका माओवादीले आज–भोलि मुखसमेत देखाउन छाडेको छ ।
माओवादी कार्यकर्ताले ०५८ सालमा उक्त विद्युत् गृह भत्काएको स्थानीय नरजंग शाहीले बताए । उनले भने, ‘बत्ती बाल्नका लागि मट्टीतेल अछामको साँफेबगरबाट ल्याउनुपर्छ । त्यो पनि १४० रुपियाँ प्रतिलिटर पर्ने गरेको छ ।
यता, सरकारवाला निकायलाई उक्त समस्याबारे पटक–पटक आग्रह गर्दासमेत कुनै पनि वास्ता नगरेको र मौन बसेको स्थानीयले आरोप लगाएका छन् । माओवादी युद्धताका माओवादीले जुकोटको उक्त विद्युत्गृहका सम्पूर्ण सामान ध्यस्त पारेका थिए । हालसम्म उक्त ठाउँमा नहर र पाइपबाहेक अरू केही पनि छैन । गाउँमा गाडिएका पोलसमेत कुहेर त्यसै खेर गएको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया