पुल निर्माणमा ठेकेदारको लापरबाही

बाजुरा, १० असोज । बझाङ जिल्लाको भोपुर रूपातोला ग्रामीण सडक जोड्ने सुनिगाडमा निर्माणाधीन पुल ठेकेदारको लापरबाहीले ढिलाइ भएको छ ।

पुल निर्माणको जिम्मेवारी लिएको वाइपी कन्स्ट्रक्सन कम्पनीले आर्थिक वर्ष ०६८ मा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि पुल तयार भएको छैन । वाइपी कन्स्ट्रक्सनका प्रतिनिधि नवराज थापाले उक्त पुल निर्माण गर्ने जिम्मा लिएका थिए । जिल्ला विकास समितिअन्तर्गत विकेन्द्रीकृत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत पुल निर्माणका लागि ठेक्कापट्टा भएको हो । १ करोड ७६ लाख रुपियाँ लागतमा बन्ने सो पुल निर्माण कम्पनीले ३४ लाख पेस्की लिएर फरार भएको जनाइएको छ । निर्माण कम्पनीले सम्झौता सकिएको दुई वर्षसम्म पनि पुल निर्माण गरेका छैनन् । सडक त बन्यो तर पुल नबनेपछि सडक निर्माणको औचित्य नरहेको सुनिकोट गाविसका रोसन कुँवरले बताए । उनले भने अब त यातायातका साधन पुग्ने भयो भनेर हौस्याएका स्थानीयवासी पनि पुल नबनेपछि निराश भएका छन् ।
पुल निर्माणमा सहयोग गरिरहेको यसियाली विकास बैंकले जिल्ला विकास समिति तथा निर्माण कम्पनीलाई ताकेता गरिरहेको छ । विकेन्द्रीकृत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमका इन्जिनियर गोरखराज जोशीले चालु आर्थिक वर्षमा पनि पुल निर्माण कार्य पूरा नगरे कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

प्रतिक्रिया