पहिलोपटक बटालियन सहभागी

Armyकाठमाडौं, १० असोज । नेपाल र भारतबीचको पाँचौँ संयुक्त सैन्य अभ्यासमा पहिलोपटक बटालियन तहमा नेपाली सैनिक सहभागी भएका छन् । भारतको उतराखण्डस्थित नेपालको सीमा जोडिएको पिथौरागढमा सोमबार सुरु भएको ‘सूर्यकिरण’ नाम दिइएको संयुक्त सैन्य अभ्यासमा करिब चार सय नेपाली सैनिकले सहभागिता जनाएका छन् ।

यसअघि चारपटकसम्म नेपाल र भारतका विभिन्न ठाउँमा भएका संयुक्त सैन्य अभ्यासमा नेपालका तर्फबाट ४५ देखि ५० जनासम्मले सहभागिता जनाएका थिए । सैन्य अभ्यासबाट दुई देशका सेनाको सम्बन्ध सुमुधुर हुनुका साथै एकअर्काको अनुभव आदान–प्रदान गर्न पनि उपयोगी हुने सेनाको विश्वास छ ।
सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले बटालियनस्तरको सैनिक अभ्यास भारतमा सुरु भएको जानकारी दिए । ‘दुवै देशका सेनाविच संयुक्त अभ्यास सुरु भएको छ, यसले एकअर्काको अनुभव आदान–प्रदान गर्न सजिलो हुनुको साथै द्विपक्षीय सम्बन्ध पनि मजबुत बनाउँछ,’ सैनिक प्रवक्ता पोखरेलले सौर्यसँग भने ।
दुवै देशका सेनाबीच जंगल वार फेयर, डिजास्टर मेनेजमेन्ट र काउन्टर इन्सरजेन्सी अपरेसनसम्बन्धी संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।
प्रधानसेनापति गौरवशमशेर राणाको भारत भ्रमणको पूर्वसन्ध्यामा भएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तर्फबाट प्रमुख सेनानी भोला थापाको नेतृत्वमा ३ सय ८३ जनाले भाग लिइरहेका छन् । एक महासेनानी, एक प्रमुख सेनानी र एक सेनानी ‘अब्जरभर’का रूपमा अभ्यासमा भाग लिन जाँदै छन् ।
नेपाली सेनाको चारवटा बटालियनबाट ९२ जनाको दरले ३ सय ६८ जना र सैनिक मुख्यालयबाट १५ जना अभ्यासमा सहभागी भएका छन् । स्रोतका अनुसार अभ्यासमा सिंहनाथ, सबुज, गोरखबहादुर र रणशेर बटालियनका सैनिक सहभागी छन् । अभ्यासमा भारतका तर्फबाट ८ सय सैनिकले भाग लिएका छन् ।
संयुक्त सैन्य अभ्यासमा युद्धसम्बन्धी साधारण अभ्यास एवं पर्वतीय सैन्य अभ्यास भइरहेको सेनाले जनाएको छ । अभ्यासमा नेपाल र भारतको पहाडी इलाकामा गरिने सैन्य गतिविधिका साथै प्रतिविद्रोहबारे समेत अनुभव आदान–प्रदान गरिने जनाइएको छ ।
प्रधानसेनापति गौरवशमशेर राणाको पनि संयुक्त सैन्य अभ्यासमा सहभागिता रहने सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ । राणासँगै नेपाली सेनाको सैनिक विनय महानिर्देशनालयको महानिर्देशक उपरथी भिक्टर राणा, सैनिक सहायक सुरेशराज शर्मा र जंगल वार फेयर कलेज अमलेखगन्जका कमान्डडेन्ट
महासेनानी प्रेमध्वज अधिकारी सहभागी हुन भारत जाँदै छन् । उनीहरूले संयुक्त सैन्य अभ्यासको अवलोकन गर्नेछन् ।
सैनिक स्रोतका अनुसार संयुक्त सैन्य अभ्यास २० असोजमा समापन हुनेछ । यसअघि नेपाल–भारत सुरक्षाको सातौँ द्विपक्षीय संयुक्त समूहको २०११ मा भएको सहमतिअनुसार प्लाटुन तहमा संयुक्त सैन्य अभ्यास गर्ने निर्णय भएको थियो । सहमतिअनुसार पहिलोपटक जंगल वार फेयर तालिम भारतको जंगल वार फेयर कलेज भैरनगेट, मिजोरोम र नेपालको बाराको अमलेखगन्जमा सम्पन्न भएको थियो । त्यसपछि कम्पनी तहको संयुक्त सैन्य अभ्यास उत्तराखण्डको चौबरियामा भएको थियो । बटालियन तहको अभ्यासको प्रारम्भिक योजना नेपालमा र अन्तिम योजना भारतमा बनेको थियो ।

प्रतिक्रिया