उम्मेदवारका आकांक्षीबीच विवाद र हानाथाप

uncp-maoistदोलखा : उम्मेदवार छनोको विषयलाई लिएर एकीकृत नेकपा माओवादी दोलखाभित्र चर्को विवाद देखिएको छ ।
एक महिनाअघि जिल्ला कमिटीबाट सिफारिस भएका नामहरूमा सहमति गरी सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्न केन्द्रले सर्कुलर जारी गरे लगत्तै चलेको बैठकमा उम्मेदवारका आकांक्षीबीच विवाद र हानाथाप बढेपछि जिल्ला कमिटीले उम्मेदवार छनोट गर्न सकेन ।
सोमबारदेखि चलेको बैठकको पहिलो दिन नै कार्यकर्ताबीच विवाद बढेको थियो । प्रचण्डनिकटका केन्द्रीय सदस्यसमेत रहेका जिल्ला संयोजक गंगा कार्कीले बैठक सुरु भएको दुई घन्टासम्म पनि निर्वाचनको एजेन्डामा प्रवेश नगरेपछि जिल्ला कमिटी सदस्यहरू उनीविरुद्ध आक्रोशित बनेका थिए । उनका अनुसार इलाका संयोजकलाई रिपोर्टिङ गर्न निर्देशन दिइएपछि ११ वटै इलाका संयोजकहरूले केही उम्मेदवारको नाम लिएर सिफारिस गर्न अनुरोध गरेका थिए । संयोजक मध्ये कसैले पनि कार्कीको नाम नलिएको भन्दै अन्तिममा कार्कीकी श्रीमती एवं ताम्सालिङ राज्य समिति सदस्य दुर्गा कार्की बैठकका सहभागीविरुद्ध उलेर्की थिइन् । स्रोतका अनुसार कार्की पत्नी दुर्गाले दोलखामा जनयुद्ध सुरु गर्ने पाँच जनामध्येका एक गंगा कार्कीको नाम नलिनेहरूको हैसियतबारे बैठकमा प्रश्न उठाएकी थिइन् । ‘हिजो पार्टीमा दु:ख गर्ने हामी, पार्टी बनाउने हामी, अनि आज ०६३ पछि माओवादी प्रवेश गर्नेहरूको यत्रो फुर्ती ?,’ उनले बैठकमा पोखेको आक्रोशलाई उद्धृत गर्दै स्रोतले भन्यो । दुर्गाले दोलखा माओवादी जसरी पनि आफ्नो परिवारकै कब्जामा जाने भन्दै आक्रोश पोखेपछि कार्यकर्ताहरू कार्कीविरुद्ध आक्रोशित बनेका थिए ।
दोलखा माओवादीमा जुँगु गाउँका केन्द्रीय सदस्य कार्की उनकी साली एवं माओवादीभित्रकी प्रभावशाली महिला नेतृ देवी खड्का र सालो विशाल खड्काको पेरिफेरीमा पार्टी चल्ने गरेका कारण उनीहरूको परिवारलाई कार्यकर्ताले ‘जुगु दरबार’ नाम दिने गरेका छन् ।
एक इलाका संयोजकले बैठकबारे भने, ‘हलले केन्द्रीय सदस्य कार्कीलाई माफी माग्न आग्रह गर्‍यो । तर, उनले माफी माग्नुको साट्टो उल्टो श्रीमतीको कुरामा होस्ते दिए ।’
एक सय ९३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिको बैठक चरिघ्याङमा रहेको एक स्थानीय रेडियोको हलमा बसेको थियो । बैठक लगत्तै कार्यकर्ताहरू होहल्ला मच्चाउँदै कार्कीविरुद्ध उत्रिएका थिए । होहल्ला मच्चिएको करिब एक घन्टापछि केही जिल्ला नेताहरूको आग्रहमा कार्यकर्ता मत्थर भएका थिए । कार्यकर्ताहरूको आक्रोश आफूमाथि पोखिए लगत्तै जिल्लाबाट प्रतिनिधित्व गर्ने तीन केन्द्रीय सदस्यहरू गंगा कार्की, देवी खड्का र शंकर लामा बैठक हलबाट बाहिरिएका थिए ।
क्षेत्र नं १ बाट कार्कीसमेत उम्मेदवारको आकांक्षी हुन् । तर, अधिकांश इलाका संयोजक र अध्यक्षले उनका सालो विशालको नाम लिएका थिए । यस्तै, देवीले समेत भाइका लागि त्याग गर्ने जनाउ दिएकी थिइन् । क्षेत्र नं २ मा समेत अधिकांशले कुलबहादुर बुढाथोकी र डम्बर थामीको नाम लिएका थिए । त्यही क्षेत्रबाट दाबी गर्दै आएका प्रचण्डनिकटकै केन्द्रीय सदस्य शंकर लामाको नाम केही कार्यकर्ताले मात्र लिएपछि लामासमेत क्रुद्ध बनेका थिए । लामा क्षेत्र नं १ का हुन् । इलाका संयोजक र जिल्ला सदस्यसँग भनाभन पर्ने क्रममा उनले टिकट नपाए विद्रोही गर्नेे चेतावनीसमेत दिएको एक जिल्ला सदस्यले बताए । कार्की बाहेकका जिल्ला तहका केही शीर्षस्थ नेताबीच भने क्षेत्र नं १ मा विशाल र २ मा शंकर लामालाई अगाडि सार्ने सहमति भएको छ ।
जिल्ला संयोजक एवं केन्द्रीय सदस्य कार्कीले पार्टीमा कुनै विवाद नरहेको बताए । ‘एकाध मानिसले कसको नाम लियो लिएन भन्ने कुरा ठूलो हैन,’ कार्कीले भने, ‘मविरुद्ध बैठकमा होहल्ला भएको भन्ने कुरा भ्रामक हुन् ।’ देवी खड्काले राज्य समिति बैठकले नै उम्मेदवार टुुंगो लगाउने बताइन् ।

प्रतिक्रिया