माओवादी छाड्दै मधेसी नेता

Mahendra Paswanकाठमाडौं, ९ असोज । एमाओवादीबाट छुट्टिएको वर्षदिन बित्न नपाउँदै नेकपा–माओवादीले तराई–मधेसका पकड क्षेत्र गुमाउन थालेको छ ।

मधेसमा प्रभाव राख्ने नेता महेन्द्र पासवान र केन्द्रीय सदस्य रवीन्द्र यादवले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी पार्टीबाट सम्बन्धविच्छेदको घोषणा गरेका छन् । उनीहरूले नेकपा–माओवादी (विद्रोही) नामक पार्टी गठनसमेत गरेका छन् । पासवान र यादवका साथ धनुषा र बारा जिल्ला इन्चार्ज क्रमश: दीपक यादव र रञ्जित पटेललगायत दुई दर्जनभन्दा बढी राज्य समिति सदस्यले पार्टी परित्याग गरेका छन् ।
केन्द्रीय सदस्य शिवराम यादव पनि अहिले पार्टी सम्पर्कमा नरहेको माओवादी स्रोतले जनाएको छ । केन्द्रीय सदस्य सूर्यनाथ यादव पनि पार्टी सम्पर्कबाहिरै रहेको र मधेसी फोरममा प्रवेशको तयारीमा रहेको स्रोतको दाबी छ । मधेसका नेता माओवादीबाट टाढिन थालेपछि माओवादी मधेसमा कमजोर बनेको विश्लेषक बताउँछन् । माओवादीकै एक नेताका अनुसार पार्टी केन्द्रमै गुट–उपगुटको खेल सुरु हुँदा यसको प्रभाव क्षेत्र, जनवर्गीय संघसंगठनमा देखा परेको हो ।
पार्टी परित्याग तथा नयाँ पार्टी घोषणा गर्न मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पासवानले दरबारिया शक्तिसँग साँठगाँठ गरेर जाने विचार कम्युनिस्ट पार्टीमा मेल नखाने भन्दै माओवादीको विरोध गरे । राज्यसत्ता प्राप्त गर्ने अवस्थामा र जनताको हकअधिकार सुनिश्चित गर्ने बेला जहिल्यै जनतालाई धोका दिएको आरोप लगाउँदै उनले मोहन वैद्य नेतृत्वको माओवादीले पनि उत्पीडनको पक्ष नउठाएकाले अलग हुनुपरेको बताए ।
पासवानकै नेतृत्वमा गठित ५१ सदस्यीय नयाँ पार्टी चुनावमा जाने जानकारी दिँदै उनले आºना मुद्दालाई जसले सम्बोधन गर्छ उसैसँग मिलेर जाने स्पष्ट पारे ।
अरू दलसँग बार्गेनिङ

महेन्द्र पासवान नेतृत्वको नेकपा–माओवादी (विद्रोही) नामक पार्टी घोषणासँगै एमाओवादीमा प्रवेश गर्न लागेको खुलासा भएको छ । पेरिसडाँडा स्रोतका अनुसार उनीहरू केही दिनमै एमाओवादीमा प्रवेश गर्दै छन् । भागबन्डामा कुरा नमिले मात्रै पासवान समूह एमाओवादी नजाने स्रोतको दाबी छ ।
पासवान समूहका एक नेताले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग पनि कुराकानी भइरहेको बताए । एमाओवादीसँग कुराकानी नमिलेको खण्डमा संघीयसँग मिलेर जान सकिने उनले संकेत गरे ।
पासवान माओवादी युद्धकालदेखि नै मधेसमा प्रभाव राख्ने हार्डलाइनर नेताका रूपमा चिनिन्छन् । नेकपा–माओवादीको पोखरा बैठकको महिना दिनअघि सर्लाहीको गोडदारमा मधेसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य सहभागी बैठकबाट भने उनी एमाओवादीप्रति पुन: नजिकिएका थिए । उक्त बैठकमा एमाओवादीमा जानुपर्ने, मधेसी दलसँग सहकार्य गरेर अघि बढ्नुपर्ने तथा छुट्टै केन्द्र खोल्नुपर्ने तीन धार उत्पन्न भएको थियो । पासवानले एमाओवादीमा जानुपर्ने धारणा व्यक्त गरेका थिए । त्यसपछि नै पोखरा बैठकमा १३ बुँदे माग प्रस्तुत गरिएको थियो । उक्त मागको सम्बोधन नगरिएकाले भन्दै पासवानको नेतृत्वमा मंगलबार मधेसका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका थिए ।

प्रतिक्रिया