पूजापाठमै बित्छ मन्त्रीको पाँच घन्टा

Hariprashad-Neupaneकाठमाडौं, ९ असोज । संविधानसभाको दोस्रो चुनाव सम्पन्न गर्ने एक मात्र उद्देश्य बोकी गठन भएको अन्तरिम चुनावी मन्त्रिपरिषद्का मन्त्रीहरू बिहानदेखि बेलुकासम्म निकै चटारोमा हुन्छन् । कतै गोष्ठी कतै सेमिनार त कतै कार्यक्रम उद्घाटन । मन्त्रालयमा झल्याकझुलुक मात्र देखिने मन्त्रीज्यूहरू बिहान उठेदेखि राति नसुतेसम्म हतारोमै हुन्छन् । तर, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री हरिप्रसाद न्यौपानेलाई भने बिहान ३ र बेलुका २ घन्टा कुनै हतारो छैन । श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका मन्त्री न्यौपाने दैनिक पाँच घन्टाको यो समयमा उनी मन्त्रिपरिषद्को बैठकमा समेत उपस्थित हुँदैनन् । उपस्थित नहुनुको मुख्य कारण हो ‘शिव आराधना’ ।

पूर्व काननुसचिवसमेत रहेका मन्त्री न्यौपानेले दैनिक पाँच घन्टा पुजापाठमा बिताउने गर्छन् । उनले मन्त्रालय वा मन्त्रिपरिषद्मा कुनै जरुरी काम परे पनि बिहान ३ र बेलुका २ घन्टाको समय उपलब्ध गराउन सक्दैनन् । उनी बिहान र बेलुका गरी दैनिक पाँच घन्टा भगवान् शिवको पूजा र ध्यानमा बिताउँछन् ।
‘मन्त्रीज्यूको दैनिक पाँच घन्टाको समय पूजामै बित्छ,’ मन्त्री न्यौपानेका स्वकीय सचिव रमेश न्यौपानेले भने, ‘यो समयमा उहाँ कुनै कार्यक्रम, बैठक सेमिनार कतै जानुहुन्न ।’ बिहान ५ बजेदेखि तीन घन्टा र बेलुका ७ बजेदेखि दुई घन्टा मन्त्रीले पुजापाठमा समय बिताउने गरेको स्वकीय सचिव न्यौपानेले बताए ।
मन्त्री न्यौपाने गत साउन महिनाभर व्रत बसेका थिए । व्रत अवधिभर उनले झन्डै २५ वटा मन्दिरमा पुगी पूजा गरे । ‘उहाँ पाँचपटक त पशुपति नै जानुभयो,’ स्वकीय सचिव न्यौपानेले भने, ‘घरबाहिर जाँदा उहाँलाई खानामा समस्या पर्ने गर्छ । माछामासु, अरूले पकाएको खाना, लसुन प्याज केही पनि उहाँ खानुहुन्न ।’
१ चैतमा राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई नियुक्त गरेकै दिन न्यौपाने पनि मन्त्री बनेका हुन् । मन्त्री भएपछि उनलाई भेट्न मन्त्रीनिवासमा मानिसहरू बिहानै उपस्थित हुने गर्थे तर मन्त्रीले पुजापाठका कारण समय दिन नसक्ने भएपछि बिहान भेट्न कुनै व्यक्ति आउँदैनन् । ‘पहिले धेरै मानिस आउँथे तर मन्त्रीले बिहानको समय दिन नसक्ने थाहा पाएपछि अहिले कोही आउँदैनन्’ न्यौपानेले भने ।
मन्त्री भएलगतै मन्त्री निवासमा सर्दा उनको पुजापाठमा समस्या आएको थियो । घट्टेकुलोस्थित निवासबाट भगवान् शिवको मूर्ति मन्त्रालय सार्न समस्या भएपछि पूजामा कठिनाइ भएको न्यौपानेले बताए । ‘एक आफन्तले शिवको मूर्ति उपहार दिएपछि पुजापाठको समस्या हल भएको हो,’ उनले भने ।

प्रतिक्रिया