‘ग्रहण’ लागेको चुनाव खण्डित संविधानसभा

Surya-Bd-Thapa-Jiकाठमाडौं, ७ असोज । पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नेकपा माओवादी सहभागी नहुने चुनावलाई ‘ग्रहण’ लागेको खण्डित संविधान सभाको संज्ञा दिएका छन् ।
काठमाडौंको मालीगाउंस्थित आफ्नै निवासमा आज (सोमबार) पत्रकार सम्मेलन गरेर थापाले नेकपा माओवादीलाई चुनावमा सहभागी गराउनै पर्ने बताए । ठूला राजनीतिक शक्ति र सरकारले गम्भीर भएर नेकपा माओवादीसंग वार्तानै नगरेको आरोप लगाए ।
‘नेकपा माओवादी सहभागी नहुंने चुनाव भोलि गएर ठूलो प्रश्न उठने छ,’ उनले भने, ‘सूर्यग्रहण लागे जस्तै बैद्य माओवादी सहभागी नहुंदासम्म संविधानसभामा ‘ग्रहण’ लाग्छ ।’
‘सूर्यग्रहण लाग्दैमा सूर्य उदाउंदैन भन्ने होइन,’ थापाले भने, ‘ग्रहण लाग्दा गरिने धार्मिक कार्य गरे जस्तै वार्ता मार्फत चुनावमा उनीहरुलाई सहभागी गराउनु पर्छ ।’ उनले नेकपा माओवादीसंगको वार्ता र सम्वाद सहि रुपमा हुनै नसकेको बताए ।
मागलाई सम्बोधन गर्ने विषयमा गम्भीर छलफल र वहस हुनुपर्नेमा सो कार्य हुन नसकेको अध्यक्ष थापाको आरोप छ । ‘माग राख्ने अधिकार जस्को पनि हुन्छ,’ उनले भने, ‘गम्भीर वहस र छलफल गर्ने हो भने लेनदेनका आधारमा सहमति भईहाल्छ ।’
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चासहितका चार राजनीतिक शक्तिले नेकपा माओवादीलाई चुनावमा सहभागी गराउन गम्भीर वहस र छलफल चलाउनुपर्ने उनको भनाई छ । अध्यक्ष थापाले नेकपा माओवादी बेगरको चुनावले दीर्घकालमा पुगेर मुलुकलाई ठूलो असर पर्ने चेतावनी पनि दिए ।
नेकपा माओवादीलाई सबैले शक्तिका रुपमा स्वीकार गरिसके पछि दोस्रो संविधान सभा चुनावमा ल्याउन पहल नगर्नु भनेको समस्या समाधान गर्न नचाहनु नै रहेको थापाले बताए । ‘संसदको चुनाव भएको भए नेकपा माओवादीलाई बाहिर राख्दा पनि केही हुने थिएन,’ उनले भने, ‘संविधान सभा र नयां संविधान बनाउने कार्यमा एउटा शक्तिलाई बाहिर राख्दा ईतिहांसमा रेकर्ड रहिरहने छ ।’
मंसिर चार गतेको चुनावमा राप्रपा चुनावी प्रक्रियामा भाग लिन तयार भएर बसेको उनले बताए । यद्यपि, उनले आफू प्रत्यक्ष तर्फ उम्मेदवारी नदिने बताए । ‘धनकुटाको भौगोलिक विकटताका कारण मैले प्रत्यक्षमा उठ्न नचाहेको हुं,’ उनले भने, ‘८६ बर्षको भईसके । प्रत्यक्षमा उठ्दिन भनेको राजनीति छाड्छु भनेको होईन ।’
संविधानसभाको चुनावलाई लिएर विभिन्न अड्कलवाजी र टिकाटिप्पणी भईरहेका बेला पूर्वप्रधानमन्त्री थापाले नेकपा माओवादीलाई जसरी पनि सहभागी गराउन भनेका हुन् ।

प्रतिक्रिया