ओस्कारका लागि भारतको ‘दि गुड रोड’

oskar-awardओस्कार अवार्डका लागि भारतबाट गुजराती चलचित्र ‘दि गुड रोड’ छनोटमा परेको छ । सर्वश्रेष्ठ विदेशी भाषाको चलचित्र अन्तर्गत दि गुड रोड छनोटमा परेको हो । भारतीय चलचित्र बोर्डले सर्वसम्मत रूपमा उक्त गुजराती चलचित्रलाई ओस्कार अवार्डका लागि पठाएको चर्चित चलचित्र निर्देशक गौतम घोषले समाचार एजेन्सीलाई जानकारी दिएका छन् । घोष १६ सदस्यीय चलचित्र बोर्डका प्रमुख हुन् ।
घोषले अवार्डका लागि छनोटमा परेको दि गुड रोडले अवार्ड जित्ने विश्वास व्यक्त गरे । यो चलचित्र ओस्कार अवार्डमा छनोटका लागि पठाइएको पहिलो गुजराती चलचित्र हो । चलचित्रको निर्देशन ज्ञान कोरियाले गरेका हुन् । सर्वश्रेष्ठ गुजराती चलचित्रको राष्ट्रिय अवार्डसमेत हात पारेको थियो दि गुड रोडले ।
भारतका तर्फबाट आधिकारिक ओस्कार अवार्डको छनोटका लागि बलिउडका २१ चलचित्रबीच प्रतिस्पर्धा भएको थियो । लञ्च बक्स, भाग मिल्खा भाग, इंग्लिस विंग्लिस, विश्वरुपम लगायतका चलचित्रहरूले ओस्कार अवार्डका लागि दाबी गरेका थिए ।
इरफान र नवाजुद्धिन सिद्धिकीको अभिनय रहेको लञ्च बक्स चलचित्रलाई पनि प्रमुख दाबेदारका रूपमा लिइएको थियो । भारतीय चलचित्र बोर्डका प्रमुख घोषले आफूलाई लञ्च बक्स असाध्यै मन परेको बताए । ओस्कार अवार्ड चलचित्र क्षेत्रको विश्वकै ठूलो अवार्डका रूपमा लिइन्छ । (एजेन्सी)

प्रतिक्रिया