अखिलको चुनावमा तीन प्यानल

akhil 1काठमाडौं, ७ असोज । एमालेको भ्रातृसंगठन अनेरास्ववियुको २१औँ महाधिवेशन लम्बिएको छ । ३ देखि ५ असोज भनिए पनि नेतृत्व चयनका लागि गुटभित्रको उपगुट मिलाउनका लागेपछि महाधिवेशन लम्बिएको हो । नेतृत्व चयनका लागि सोमबार मात्र मतदान हुने भएको छ । महाधिवेशन लम्बिएपछि थप खर्चिलो बनेको छ । शनिबारसम्म प्रतिनिधिलाई होटेलमा राख्ने भने पनि थप दुई दिन राख्ने भएपछि खर्चिलो भएको हो ।

आइतबार दिउँसो मनोनयन गरेपछि सोमबार बिहान निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । आइतबार तीन प्यानलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । लक्ष्मण लम्साल, किशोरविक्रम मल्ल र नवराज पौड्यालले अध्यक्षसहित प्यानलको मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि कार्यक्रम स्थलवरिपरि बाजासहित चुनावी प्रसारमा उम्मेदवार लागेका देखिन्थे । पर्चा पम्पलेटसहित आफ्नो प्यानलका उम्मेदवारलाई जिताउन शनिबारबाटै उनीहरूले प्रचारप्रसार थालेका छन् ।
लम्साललाई पार्टी अध्यक्ष झलनाथ खनाल, मल्ललाई केपी शर्मा ओली र पौडेललाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको समर्थन रहेको छ । पौडेलले लम्साल र मल्ल समूहबाट असन्तुष्ट पक्षका नेताहरूलाई समेटेर छुट्टै प्यानल दर्ता गराएका छन् । पौडेल भने मल्ल समूहका हुन् ।
महासचिवमा नवीना लामा, रचना खड्का र चिरञ्जीवी पौडेलले दर्ता गराएका छन् । लामाले लम्साल र खड्काले मल्ल प्यानलबाट उम्मेदवार भएका हुन् । चिरञ्जीवीले नवराज प्यानलबाट महासचिवमा उम्मेदवारी दिएका हुन् ।
लम्साल टिमबाट उपाध्यक्षमा थोमस बाँस्तोला, दीपक गौतम र ध्रुव राईले दर्ता गराएका छन् । मल्लबाट उपाध्यक्षमा बचनसिंह, सरोज यादव र ऐन महरले दर्ता गरेका छन् । यसैगरी पौडेलको टिमबाट सिपी घर्तीमगर, महेश पन्त र राजकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।
लम्साल समूहले सचिवमा खुलातर्फ कमल बस्नेत, अब्दुल हुसेन खा, महिलातर्फ राधिका खतिवडा, जनजातिमा भक्तकुमारी लामा, मधेसीमा जहवारीलाल अन्सारी र कोषाध्यक्षमा गुणराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । लेखा आयोगको अध्यक्षमा निलकण्ठ आचार्य र अनुशासन आयोगका अध्यक्ष मेनका पछाईंले उम्मेदवारी दिएका छन् ।
मल्ल समूहबाट सचिवमा खुलातर्फ महेश गर्ताैला र बाबुराम पन्थी, मधेसी केटामा खुसीलाल चौधरी, महिलामा दीपा शर्मा र जनजातिबाट विवेक श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । मल्लले कोषाध्यक्षमा रश्मि आचार्य, अनुशासन आयोगमा जीवन राई र लेखा परीक्षकमा दिलीप न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
पौड्यालको समूहबाट सचिवमा खुलातर्फ केशव आचार्य, टीकाराम लामा महिलामा सुनीता बराल, मधेसबाट सरोज यादव र जनजातिबाट टंक नेपाली तथा कोषाध्यक्षमा श्याम बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
महाधिवेशनमा १ हजार ४ सय २१ प्रतिनिधिले ११ पदाधिकारीसहित ४५ सचिवालय सदस्य र १ सय ३५ केन्द्रीय सदस्यको निर्वाचन प्रक्रियाबाट चयन गर्ने केन्द्रीय सदस्य दुर्गा शर्माले जानकारी गराए । निर्वाचन समितिले आइतबार प्राविधिक कारण देखाउँदै उम्मेदवारको सूची नै प्रकाशित नगरी स्थगित गरेको छ । समितिले सोमबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया थाल्ने जनाएको छ ।

प्रतिक्रिया