कांग्रेस संसदीय समिति गठनमा अझै किचलो

Nepali Congressकाठमाडौं, ७ असोज । कांग्रेसमा संसदीय समिति गठनमा कुरा नमिलेपछि नेता शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमिति बैठक बोलाउन दबाब दिएको छ । सहमतिमा समिति गठन हुन नसके केन्द्रीय कार्यसमितिको बैठकबाट विवादको टुंगो लगाउनुपर्ने देउवा पक्षको प्रस्ताव छ ।

समिति गठनको किचलोले गर्दा कांग्रेसले संविधानसभा चुनावका लागि उम्मेदवार चयन गर्न सकेको छैन । सभापति सुशील कोइरालाका तर्फबाट समिति गठनको विषयमा प्रस्ताव लिएर आइतबार महामन्त्री कृष्णप्रसाद सिटौला बूढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए । देउवाले कांग्रेसका पुराना नेतालाई पनि समितिमा राख्न प्रस्ताव गरेपछि महामन्त्री सिटौलाले अस्वीकार गरेको स्रोतले जनाएको छ ।
‘केबी गुरुङलाई समितिमा लैजाने कुरा नगरौँ,’ सिटौलाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सभपातिज्यूले जे निर्णय गर्नुहुन्छ त्यहीअनुरूप कुरा गरौँला ।’ नेता गुरुङ विगतमा संस्थापन पक्षकै भए पनि हाल कुनै समूहमा छैनन् ।
देउवाले गुरुङसहित ६ सदस्य समितिमा राख्न पाउनुपर्ने प्रस्तावसहितको सन्देश कोइरालासमक्ष पठाएका छन् । देउवाको प्रति–प्रस्ताव लिएर सिटौला महाराजगन्जस्थित कोइराला निवास पुगेका थिए । देउवाले सुरुमा समितिमा कोइराला पक्षलाई आठ र आफूलाई ६ सदस्य मागेका थिए । ६ सदस्यभित्र देउवाले गुरुङको नाम राखेका थिए । सिटौला असहमत भएपछि देउवाले पाँच सदस्यभन्दा कममा नमान्ने बरु केन्द्रीय कार्यसमितिबाट त्यसको टुंगो लगाउनुपर्ने प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव ‘कोइरालालाई जानकारी गराएपछि टेलिफोन गर्ने’ भन्दै सिटौला देउवा निवासबाट बाहिरिएका थिए । तर, बेलुकी ७ बजेसम्म पनि त्यसको जवाफ नआएको देउवानिकट स्रोतले जनाएको छ ।
‘कुरा मिल्छ भने केबी गरुङसहित ६ सदस्य मलाई दिनुस्,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हुँदैन भने केन्द्रीय कार्यसमिति बोलाएर छिटै निर्णय गरौँ ।’
देउवाले गुरुङलाई सदस्य नदिने हो भने पाँच सदस्यमा चित्त बुझाउने संकेतसमेत दिएका छन् । देउवालाई पाँच सदस्य राख्न दिए कोइरालाका पक्षमा नौ सदस्य रहनेछन् ।
केन्द्रीय कार्यसमितिबाट समिति गठन गर्नुपर्ने देउवा पक्षको प्रस्तावपछि संस्थापन झस्किएको छ । त्यसरी समिति गठन गरे विवाद हुने संस्थापनको ठम्याइ छ । ‘केन्द्रीय कार्यसमितिबाट समिति गठन गर्दा भाँडभैलो भई हामी कमजोर हुन्छौँ,’ कोइरालानिकट एक केन्द्रीय सदस्यले भने ।
समितिमा रहने सदस्यको नियुक्तिमा आफूनिकटलाई राख्ने होडमा कांग्रेसले उम्मेदवारको चयन गर्न सकेको छैन । उम्मेदवारका नामको सूची क्षेत्र र जिल्लाले केन्द्रमा पठाएको एक साताभन्दा बढी समय बितिसकेको छ ।
बोर्डमा सभापति कोइरालाका साथै उपसभापति रामचन्द्र पौडेल दुई महामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष, एक सह–महामन्त्री, कोषाध्यक्षसहितका सदस्य रहने व्यवस्था विधानमा छ । बोर्डमा सभापतिले प्रस्ताव गर्ने नाम केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने हुन्छ । बोर्डमा संसदीय दलका नेता पदेन सदस्य रहने व्यवस्था छ । संसद नरहेकाले कांग्रेसको समिति १४ सदस्यीय मात्रै हुनेछ ।
देउवा समूहले स्वयं देउवा, विमलेन्द्र निधि, गोमालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्कालाई बोर्डमा लैजाने पक्षमा देखिएको छ । कोइराला रामशरण महत, अमोदप्रसाद उपाध्याय, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडूलगायतलाई चयन गर्ने तयारीमा छन् ।

प्रतिक्रिया