सिरहा, ७ असोज । सिरहाको अयोध्यानगर–९ बाट स्थानीयवासिन्दाले हतियारसहित आएका तीन जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । सोही समूहबाट भागेर गएको आशंकामा धनगढी प्रहरीले थपतीन जनालाई पक्राउ गरेको छ ।
गाउँनजिकै रहेको गागन खोलामा राति करिब ११ बजे गोली पड्केको आवाज सुनेपछि गस्तीमा निक्लेका गाउँलेहरूले तीन जनालाई पक्राउ गरेको हो । पक्राउपछि उनीहरूको झोलामा हतियार भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेको स्थानीय विनोद यादवले बताए । उनीहरूले आफूहरू डाका नभएको र जनतान्त्रिकको कार्यकर्ता भएको बताएपछि गाउँलेले प्रहरीलाई जिम्मा लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक ज्ञानकुमार महतोका अनुसार अयोध्यानगरबाट पक्राउ पर्नेहरूमा सिरहाको बस्तिपुर गाविस–१ का २६ वर्षीय महेश यादव, भवानिपुर गाविस–६ का २१ वर्षीय रविन्द्र मण्डल र धनगढी गाविस–१ का २२ वर्षीय दिपेन्द्र महतो रहेका छन् ।
त्यसैगरी, सोही समूहसँग आबद्ध रहेको आशंकामा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगडी–८ बाट धनगडी–४ का सुरेन्द्र महतो, रामप्रसाद महतो र वीरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट चार थान मोबाइल र स. २ प ५५६० नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूबाट आठ राउन्ड गोली लोड गरिएको म्यागेजिकसहितको एक थान नौ एमएम ब्राउनलिङ स्वचालित पेस्तोल, दुई थान कटुवा पेस्तोल, एक थान खुकुरी र चार थान मोबाइल बरामद भएको प्रहरी निरीक्षक महतोले जानकारी दिए ।
पक्राउ परेकामध्ये महतो हातहतियार तथा खरखजाना ऐनअन्तर्गतको मुद्दामा तीन वर्ष कैद भुक्तान गरी गत साउन १७ गते मात्र रिहा भएका व्यक्ति हुन् । पक्राउ परेकाहरू विभिन्न लुटपाट, डकैतीलगायतका घटनामा संलग्न रहेको बताइएको छ । पक्राउ परेकाहरू मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)मा आबद्ध रहेको बताइए पनि प्रहरीले त्यसविषयमा छानबिन गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया