अखिल केन्द्रमा दुई तेस्रोलिंगी

Bishnu-Adhikariकाठमाडौं, ७ असोज । एमाले भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय नेतृत्व तहमा दुई जना तेस्रोलिंगीको प्रतिनिधित्व हुने भएको छ । संगठनको राजधानीमा जारी २१औँ महाधिवेशनबाट दुई जना तेस्रोलिंगी केन्द्रीय कार्यसमितिमा आउने अनेरास्ववियुले जनाएको छ ।

मधेसी, महिला, आदिवासी जनजातिलगायतका लागि आरक्षणको व्यवस्था गर्दै आएको अनेरास्ववियुले यसपटक तेस्रोलिंगीलाई केन्द्रीय तहमा प्रतिनिधित्व गराउन लागेको निवर्तमान अध्यक्ष माधव ढुंगेलले जानकारी दिए । ‘अनेरास्ववियु समावेशी संगठन हो भन्ने सन्देश दिन तेस्रोलिंगीलाई केन्द्रमा प्रतिनिधित्व गराउन लागेका हौँ,’ निवर्तमान अध्यक्ष ढुंगेलले सौर्यसँग भने, ‘यसपटक उहाँहरू दुवै जनालाई राष्ट्रिय परिषद् सदस्य बनाउँदै छौंँ ।’
बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा अध्ययनरत विष्णु अधिकारी र प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययनरत विष्णुराज अधिकारीलाई केन्द्रमा ल्याउने तयारी भएको ढुंगेलको भनाइ छ । ‘विष्णु र विष्णुराज दुवै जना महाधिवेशन प्रतिनिधि छन्,’ उनले भने ।
विष्णु पद्मकन्या क्याम्पसमा समाजशास्त्रतर्फ स्नातक तह दोस्रो वर्ष अध्ययनरत छन् । समाजशास्त्र र पत्रकारिताका विद्यार्थी विष्णुराज रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत छन् । उनीहरू दुवै जनाले अनेरास्ववियुमा रहेर तेस्रोलिंगीका हकअधिकार सुरक्षित गर्न लागि पर्ने बताएका छन् ।
‘केही समयअघि दाङमा सम्पन्न अनेरास्ववियुको विधान सम्मेलनले तेस्रोलिंगीलाई स्थान दिने उल्लेख गरेको छ,’ विष्णुले भनिन्, ‘हामी अनेरास्ववियुमा रहेर स्कुल, जिल्ला र क्याम्पस तहसम्म तेस्रोलिंगीका विषयमा चेतना अभिवृद्धि गर्छौं ।’
उनले अनेरास्ववियुले तेस्रोलिंगीको हक–अधिकार सुरक्षित गर्ने भएकाले यस संगठनमा आबद्ध भएको सुनाइन् । ‘यस संगठनभित्र रहेर हामी स्कुल, जिल्ला र क्याम्पस तहसम्म राजनीति चेतना अभिवृद्धि गर्छौं,’ उनले भनिन्, ‘अहिले पनि तेस्रोलिंगीलाई भेदभाव गर्ने चलन छ, हामी संगठनमा आबद्ध भएर त्यसको अन्त्य गर्न चाहन्छौँ ।’
उनले मुलुकभरका स्कुल तथा क्याम्पसमा तेस्रोलिंगीको संख्या अत्यधिक भए पनि खुल्न नचाहेका कारण त्यसको निश्चित संख्या यकिन हुन नसकेको बताइन् । ‘अब हामी मुलुकभरका स्कुल तथा क्याम्पसमा अध्ययनरत तेस्रोलिंगीलाई संगठनमा आबद्ध गराउन लागिपर्छाैँ,’ उनले भनिन्, ‘अनेरास्ववियुका अग्रजहरूले पनि हामीलाई नेतृत्वमा आउनुपर्छ भनेर हौसल्ला दिनुभएको छ ।’ उनले आगामी संविधानसभामा समेत तेस्रोलिंगीका मुद्दा उठाउन आफू संगठनमा आबद्ध भएको उल्लेख गरिन् ।
केही समयअघि मात्र अनेरास्ववियुको माउ पार्टी एमालेले पनि लालहीरा समाजका अध्यक्ष सुनीलबाबु पन्तलाई पार्टी प्रवेश गराएको थियो ।

प्रतिक्रिया