नयाँ दिल्ली, ७ असोज । प्रधानसेनापति गौरवशमशेर राणाको औपचारिक भारत भ्रमणका क्रममा भारतले नेपाली सेनालाई रोकिएको सैन्य सहयोग सुचारु गर्ने तयारी गरेको छ । भारतीय सेनाअध्यक्ष जनरल विक्रम सिंहको निम्तोमा १३ असोजमा साताव्यापी भ्रमणका लागि दिल्ली आउन लागेका प्रधानसेनापति राणाको भ्रमणको अवसरमा भारतले एक अर्ब ७६ करोड रुपियाँ बराबरको सैन्य सामग्री उपलब्ध गराउन लागेको हो ।
स्रोतका अनुसार भारतीय रक्षा मन्त्रालयमातहत रहेको डिफेन्स उत्पादन डिपार्टमेन्टले नेपाली सेनाले माग गरेको सैन्य सामग्री उत्पादन गरिरहेको र उक्त सामग्रीलाई प्रधानसेनापति राणाको भ्रमणका क्रममा थप छलफलपछि उपलब्ध गराउने तयारी छ । ‘यसपटक चिफसापको भ्रमणको अवसरमा भारतले पाइपलाइनमा रहेको सहयोग हस्तान्तरण गर्छ,’ प्रधानसेनापतिनिकट उच्च अधिकारीले काठमाडौंबाट सौर्यसँग भने, ‘त्यसैका लागि उहाँलाई औपचारिक निमन्त्रणा गरिएको हो ।’
भारतीय रक्षा मन्त्रालयमातहत रहेको डिफेन्स उत्पादन विभागले मागअनुसारका सामग्री उत्पादन गर्दा केही समय लागेको तर सैन्य सहयोग चाँडै नेपाललाई हस्तान्तरण गर्ने तयारी रहेको स्रोतले जनाएको छ । ‘सैन्य सामग्री ढिलाई हुनुमा अरू केही कारण होइन, नेपाली सेनाले माग गरेको सूचीअनुसार उत्पादन गर्दा केही ढिलाई भएको मात्र हो,’ भारतीय रक्षा मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार नेपालले भारतलाई दिनुपर्ने सैन्य सामग्री खरिदको ३० प्रतिशत रकमबारे पनि दुई देशका अधिकारीहरूबीच छलफल भइरहेको छ ।
राणाले भ्रमणका क्रममा नेपाली सेनालाई दिने भनिएको सैन्य सहयोगबारे पनि भारतीय उच्च अधिकारीसँग छलफल गर्ने भएका छन् । उनले नेपाली सेनालाई भारतले प्रदान गर्दे आएको नेसनल डिफेन्स कोर्स (एनडिसी)को कोटा बढाउन आग्रहसमेत गर्ने स्रोतको दाबी छ । भ्रमणका क्रममा उनले भारतीय सेनाअध्यक्ष सिंहका साथै रक्षामन्त्री एके एन्थोनी, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननका साथै भारतीय उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ ।
स्रोतका अनुसार नेपाली सेनालाई भारतीय सेनाले एक अर्ब ७६ करोड रुपियाँबरावरको हतियारसहितको सैन्य सामग्री उपलब्ध गराउने तयारी छ । सेनाले त्यसको सूची यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत भारतलाई बुझाइसकेको छ । जसमा भारतले पहिलो चरणमा बारूद, गोली, ८१ र ५१ एमएम र मोर्टारका साथै डेटोनेटर, सुरक्षा फयुज र सैन्य हार्डवेयर रहेको छ । प्रधानसेनापतिको भ्रमणमा सैनिक शिक्षा आदान–प्रदान, संयुक्त अभ्यासका साथै सैन्य उपकरण आपूर्ति गर्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
भारतले नेपाललाई तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा सैन्य सहयोग दिन रोकेको थियो । त्यसयता सेनाले विस्तृत शान्ति सम्झौताका कारण दोस्रो कुनै पनि मुलुकबाट सैन्य सहयोग लिन सकिरहेको थिएन । भारतले नेपाली सेनालाई दिएको सैन्य सहयोग सन् २००८ मा आएर रोकेको थियो ।
नेपाली सेनाका एक उच्चअधिकारीले प्रधानसेनापतिको भ्रमण सैन्य सहयोगमा केन्द्रित हुने दाबी गरे । ‘भ्रमण द्विपक्षीय सम्बन्ध मजबुत पार्न र सैन्य सहयोगमा नै केन्द्रित हुनेछ,’ ती अधिकारीले भने । राणाको यो तेस्रो भारत भ्रमण हो । उनी २२ पुषमा प्रधानसेनापति भएपछि पहिलोपटक भारतको १० दिने भ्रमणमा आएका थिए ।
माओवादी र सात दलबीच भएको विस्तृत शान्ति सम्झौतामा शान्ति प्रक्रिया नटुंगिएसम्म सेना तथा माओवादी दुवैले हतियार खरिद नगर्ने सहमति भएका कारण लोकतन्त्रपछि भारतले दिँदै
आएको सैन्य सहयोग नेपाल भित्रिन सकेको थिएन । माओवादी लडाकुहरू सेनामा समायोजन भइसकेपछि भने विशेष समितिले शान्ति सम्झौतामा रहेको उक्त बँुदा हटाएर सेनालाई हतियार खरिद गर्न बाटो खोलिदिएको थियो । त्यसपछि मन्त्रिपरिषद् बैठकले पनि सेनालाई आवश्यक हतियार, गोला बारूद र विस्फोटक पर्दाथ खरिद गर्न स्विकृति दिएको थियो । भारतले सेनालाई सरकारको तर्फबाट औपचारिक आग्रह भए जस्तोसुकै सैन्य सहयोग प्रदान गर्न आफूहरू तयार रहेको बताउँदै आएको थियो । यसअघि नेपाल र भारतबीच बैंलोरमा भएको विदेश मन्त्रालयको १०आँै सहसचिवस्तरीय बैठकमा भारतले नेपालाई सैन्य सहयोग उपलब्ध गराउने सहमति भएको थियो । सहमतिमा केही अनुदान र केही रकम नेपालले तिर्ने गरी भारतले सैन्य सामग्री उपलब्ध गराउने उल्लेख थियो ।
संविधानसभाको दोस्रो चुनावमा सेना परिचालन गर्ने सरकारी निर्णयको केही समयपछि हुन लागेको राणाको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सरकारले चुनावमा करिब ६१ हजार सेना परिचालन गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया