पोखरा, ६ असोज राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राष्ट्रवादी र राष्ट्रिय आत्मसमर्पणवादीका बीचमा प्रतिस्पर्धा हुने बताएका छन् ।
उनले राष्ट्रियता प्रमुख मुद्दाका रूपमा उठाउँदै आफ्नो पार्टीले आत्मसमर्पणवादी चिन्तनको निर्वाचनमार्फत जरा उखेल्ने उद्घोष गरे । राष्ट्रियता जोगाउनका लागि पनि राष्ट्रियता संरक्षणवादीको नेतृत्व राप्रपा नेपालले गर्ने उनको भनाइ थियो ।
शनिबार पोखरामा राप्रपा नेपाल निकट राष्ट्रिय पत्रकार समाज नेपालद्वारा प्रकाशित राष्ट्र विचार साप्ताहिक र राप्रपा नेपालका केन्द्रीय आमन्त्रीय सदस्य सूर्यमोहन भट्टराईद्वारा लिखित आत्मकथाको विमोचन गर्दै उनले चार दलीय आत्मसमपर्णवादी चिन्तनका कारण देशमा भारतीय हस्तक्षेप बढ्दै गएकको र यसले राष्ट्रियता नै समाप्त हुने अवस्था आएको उल्लेख गरे । केही दिन अगाडि बर्दियाको गुलरियाका एक स्थानीयको घरमा भारतीय प्रहरीले बर्दीसहित छापा मार्नु भारतमा भएको १२ बुँदे सहमतिको निरन्तरता भएको उनको भनाइ थियो । केही समय अगाडि कुख्यात भनिएका भारतीय अपराधीलाई नेपालमा पक्राउ गरी सुटुक्क भारत लैजानु र पछिल्लोपटक भारतीय प्रहरी नेपाल प्रवेश गरेर सर्वसाधारणको घरमा छापा मार्नु नेपाली सार्वभौमता माथिको वैदेशिक हस्तक्ष्ोप र छिमेकीको मिचाहा प्रवृत्ति भएको उनको टिप्पणी थियो ।
आफू गृहमन्त्री रहेको तत्कालीन शाही सरकारका विरुद्ध स्याङजाबाट आन्दोलनमा होमिएका तत्कालीन एमाले स्याङजाका उपसचिव एवं हाल गण्डकी अञ्चल समन्वय समिति सदस्य अम्मरनाथ रेग्मीलाई आफ्नो पार्टीमा प्रवेश गराएपछि निकै हौसिएका अध्यक्ष थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले प्रमुख पार्टीको हैसियत कायम गर्ने दाबी गरे ।
उनले चार दलको सिन्डिकेट, मनपरि तन्त्र र सर्वसत्तावादका कारण निर्वाचन हुने/नहुने भन्ने आशंका पैदा भएको अवस्थामा चुनाव भए पनि कसरी संविधान बन्छ भनेर प्रश्न गरेका थिए । मोहन वैद्यको नेतृत्वको मोर्चा निर्वाचनमा जान चाहेको भए पनि चार दलीय सिन्डिकेटले उनलाई निर्वाचनमा भागलिन नदिएको उनको टिप्पणी छ ।
कार्यक्रममा राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले आफूहरू पद र प्रतिष्ठाभन्दा पनि राष्ट्रियताको पक्षमा लडेको बताए । राष्ट्रियता बलियो बन्छ भने म पद र प्रतिष्ठाका लागि लड्दिन उनले भने– तपार्इंहरू राष्ट्रियताको पक्षमा वकालत गरेर आउनुहोस् म महामन्त्री पद छोड्न तयार छु । उनले राष्ट्रियता र राष्ट्रिय अर्थतन्त्र तहसनहस भएको बताउँदै यसका रक्षाका लागि पनि राप्रपालाई भोट हाल्नुपर्ने बताए ।
जिल्ला विकास समिति कास्कीका पूर्वसभापति एमाले गण्डकीका सदस्य तथा स्याङजाका पूर्वउपसचिव अमरनाथ रेग्मी शर्मासहित दुईसयभन्दा बढी राप्रपा नेपालमा प्रवेश गरेका थिए । उनीहरूलाई राप्रपा नेपालका अध्यक्ष थापाले टीका लगाई स्वागत गरेका थिए ।
प्रतिक्रिया