परिमाणभन्दा बढी गिट्टी निकासी हुँदै

धनगढी : कैलालीस्थित त्रिनगर भन्सार नाकाबाट परिमाणभन्दा बढी गिट्टी निकासी हुनेगरेको छ । गिट्टी, प्रशोधित धूलो (बालुवा) तोकिएको परिमाणभन्दा बढी निकासी हुने रहस्य खुले पनि स्थानीय प्रशासन र भन्सार कार्यालय भने मौन छ ।
दिन प्रतिदिन तोकिएको परिमाणभन्दा बढी  गिट्टी, प्रशोधित धूलो निकासी हुन थालेपछि केही दिनअघि  प्रहरीको अगुवाइमा भन्सारमा गिट्टीको नाप/तौल गर्दा तोकिएको परिमाणभन्दा सात घनमिटर बढी गिट्टी देखिएको थियो  ।
स्थानीय प्रशासनले तोकिएको परिमाणभन्दा बढी गिट्टी भारत निकासी भइरहेको भए पनि गिट्टी रोक्न कुनै चासो नदेखाउादा सर्वसाधारणले विरोध गर्न थालेका छन् । यस्तै शुक्रबार एमाले सम्बद्ध युवा संघ कैलालीले पनि भन्सार परिसरमा लोड गरिएका सातवटा ट्रकलाई तीन घन्टा रोकेको थियो ।
भारतमा गिट्टी निकासी हुने क्रम  जारी छ । प्रहरी र राजनीतिक दलका संगठनहरूले तोकिएको परिमाणभन्दा बढी गिट्टी निकासी हुन थालेको बताएका छन् । भन्सार प्रमुख शिवप्रसाद भण्डारीले निकासीका लागि भन्सारले अनुमति दिएका ट्रक रोक्ने अधिकार कसैलाई नभएको प्रतिक्रिया दिएर पन्छिए ।
उद्योग वाणिज्य संघका महासचिव तथा श्रीपुर कंक्रिट उद्योगका सञ्चालक उपेन्द्र विष्टले आफूले तोकिएको परिमाणभन्दा बढी गिट्टी नपठाएको दाबी गरे । विष्टले भन्सार तिरेर गएका ट्रक रोकेर व्यवसायीलाई दु:ख दिने काम गर्न नहुने बताए ।
जिल्लामा २० एमएमको गिट्टी आवश्यक पर्ने भए पनि यहाका क्रसर उद्योग ४० एमएमको गिट्टी उत्पादन गरेर भारत निकासी गर्दै आएका छन् । जिल्ला विकास समिति कैलालीले भारत निकासीका लागि दिएको सिफारिसको परिमाणभन्दा बढी मात्रामा गिट्टी र प्रशोधित धूलो धमाधम निकासी हुनेगरेको संबद्धको भनाइ छ ।
जिल्ला विकास समितिले जिल्लाका दुईवटा क्रसर उद्योगलाई १५/१५ हजार घनमिटर गिट्टी निकासीको अनुमति दिएको  जनाइएको छ ।  ढुंगा, बालुवा गिट्टी व्यवस्थापन समन्वय समितिको बैठकले २०७० जेठ  ९ गतेदेखि २०७१ असार मसान्तसम्मका लागि सो परिमाणमा गिट्टी निकासीको अनुमति दिएको जिविसले जनाएको छ । (सौस)

प्रतिक्रिया