जिल्लाको किचलोले कांग्रेसमा टाउको दुखाइ

congressकाठमाडौं, ६ असोज । कांग्रेसका जिल्ला सभापति र जिल्ला सचिवहरूबीच कार्यसम्पादनका विषयलाई लिएर किचलो देखिएको छ । जिल्ला सभातिहरूले आफूहरूको सल्लाह र सुझावविना उम्मेदवार नतोक्न दबाब दिएको भोलिपल्टै जिल्ला सचिवहरूले पार्टी सामूहिक नेतृत्वमा अघि बढ्नुपर्ने भन्दै शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस जिल्ला सचिवहरूले शनिबार पार्टी सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेट गरी जिल्ला सभापतिहरूले आफूहरूलाई विधानबमोजिम कार्यसम्पादन गर्न नदिएको गुनासो गरेका थिए । उनीहरूले संविधानसभा चुनावमा पार्टीको हितविपरीत जाने नेतालाई हदैसम्मको कारबाही गर्न मागसमेत गरे । उनीहरूले अनुशासन कायम गर्न नसके पार्टीले चुनावमा हार व्यहोर्नुृपर्ने दुवै नेतालाई स्पष्ट पारेका छन् । ललितपुर कांग्रेसका सचिव रविन्स शर्माका अनुसार पार्टी हितविपरीतका कार्य गर्ने पदाधिकारी वा सदस्यलाई १३औँ महाधिवेशनसम्म भाग लिन नपाउने गरी कारबाही हुनुपर्ने सुझाव दिएको जानकारी दिए ।
‘चुनाव वा पार्टी क्रियाकलापमा कांग्रेसको विधान, नियामावली र केन्द्रीय कार्यालयको निर्देशनविपरीत काम गरे जुनसुकै तहको पदाधिकारी वा सदस्य भए पनि अनुशासनको कारबाही गरी कम्तीमा आगामी १३औँ महाधिवेशनमा भाग लिनबाट वञ्चित गर्नुपर्ने व्यवस्थाको माग गरेका छौँ,’ जिल्ला सचिव शर्माले भने ।
उनीहरूले विधानमा व्यवस्था भएबमोजिम काम, कर्तव्य र अधिकार निर्वाध रूपमा प्रयोग गर्न पाउनुपर्ने मागसमेत गरेका छन् । सभपाति र सचिवहरूबीच देखिएको कार्यसम्पादनसम्बन्धी विवादलाई समाधान गर्न आफूले पहल गर्ने आश्वासन पनि कोइरालाले दिएका थिए । ‘तपाईंहरू ढुक्कसँग काम गर्नुस्,’ शर्माले कोइरालाको भनाइ उद्धृत गर्दै भने, ‘सभापतिज्यूले विधानअनुसार काम गर्दा अफ्ठेरो भए सहयोग गर्छु भन्नुभएको छ ।’
सचिवहरूले पार्टी सामूहिक नेतृत्वमा गइसकेको भन्दै जिल्ला कार्यसमितिले गर्ने निर्णयलाई आधार बनाएर सभापतिहरू चल्नुपर्ने माग गरेका छन् । उनीहरूले विधान र अनुशासन उलंघन भए आफूहरू चुपलागेर नबस्ने चेतावनीसमेत दिए ।
शुक्रबार मात्रै सभापतिहरूले सामूहिक रूपमा भेट गरेर आफूहरूको क्षेत्राधिकारमा हस्तक्षेप भएको गुनासो कोइराला र देउवासँग गरेका थिए । उनीहरूले जिल्ला सभापतिहरूलाई प्रत्यक्ष वा समानुपातिकमा अनिवार्य टिकटको व्यवस्था गर्न पनि माग गरेका थिए । जिल्ला सचिवहरूले क्षेत्र र जिल्लाबाट उम्मेदवार सिफारिस भइआएका सचिवहरूलाई प्रत्यक्ष वा समानुपातिकतर्फ कुनै एकमा टिकट दिनुपर्ने माग गरेका छन् । अधिकांश जिल्ला सचिवहरू उम्मेदवार सिफारिसमा परेका छन् ।
कोइरालाले सचिवहरूले अघि सारेका माग र सुझाव जायज रहेको उल्लेख गर्दै कार्यान्वयन गर्न आफू सकारात्मक रहेको आश्वासन दिएका थिए । कोइरालाको भनाइ उद्धृत गर्दै दाङ कांग्रेस सचिव कमल किशोर घिमिरेले भने, ‘सचिवहरूले उठाएका मागप्रति सभापतिज्यू अत्यन्तै सकारात्मक पायौँ ।’ उनले सचिवहरूका माग चुनावी रणनीति र पार्टीलाई बहुमत ल्याउन सहयोग गर्ने खालको रहेकाले पनि सभपाति र नेता देउवा सकारात्म रहेको बताए ।
सचिवहरूले जिल्ला/जिल्लाबीच समन्वय गर्नका लागि पाँच विकास क्षेत्रमा पाँच जना संयोजक तोकेका छन् । ताप्लेजुङका सचिव गजेन्द्रप्रसाद तुम्याङ पूर्वाञ्चल, ललितपुरका सचिव रविन्स शर्मा मध्यमाञ्चल, अर्घाखाँचीका सचिव वासुदेव आचार्य पश्चिमाञ्चल, दाङका सचिव कमलकिशोर घिमिरे मध्यपश्चिमाञ्चल र कञ्चनपुरका सचिव भोजराज बोहरा सुदूरपश्चिमाञ्चलको संयोजक तोकिएका छन् ।

प्रतिक्रिया