डिजे बाजा बजाउन प्रतिबन्ध

महोत्तरी : जिल्ला प्रशासन कार्यालय महोत्तरीले सूचना प्रकाशन गरी विवाह, व्रतबन्ध, पूजाआजालगायत सामाजिक समारोहमा अत्याधुनिक डिजे बाजा बजाउन प्रतिबन्ध लगाएको छ ।
कार्यालयले सामाजिक समन्वय कायम गर्न उक्त प्रतिबन्ध लगाएको जनाएको छ । विवाह, व्रतबन्ध, दसैँ, तिहार, छठ, इद, बकरिदलगायतका पर्वमा यस्तो बाजा बजाउँदा होहल्ला हुने, प्रतिस्पर्धात्मक रूपमा ठूलो आवाज हुने डिजे बाजा बजाउन तथा फिजुल खर्च गर्नसमेत प्रतिबन्ध लगाएको छ । जिल्लाका सहर बजार, गाउँघरमा अत्याधिक लोकप्रिय भएका डिजे बाजाले ध्वनि प्रदूषण बढाएर समाजमा नकारात्मक असर परेको कारण सो बाजा बजाउन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए ।
महोत्तरीलगायत मिथिलाञ्चलमा हुने विभिन्न उत्सव तथा समारोहमा ठूलो ध्वनि क्षमता भएको डिजे बाजा बजाउने होडबाजी चलेको र सो बाजाको ध्वनिले गर्दा धेरै मानिसको स्वास्थ्यमा असर परेको र यसले शान्ति सुरक्षामा पनि खलल पुगेकोले उक्त प्रतिबन्ध गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया