रोजगार विभागद्वारा अनुगमन ठप्प

labour-dpartmentकाठमाडौं, ५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा कर्मचारीलाई नियन्त्रणमा लिएपछि वैदेशिक रोजगार विभागले अनुगमनको काम ठप्प पारेको छ । विभागले अनुगमन नगर्दा अभिमुखीकरण तालिम दिँदै आएका संस्थाले कक्षा सञ्चालन नगरी त्यसबापतको रकम असुलेर कामदारलाई प्रमाणपत्र दिन थालेका छन् ।

७ भदौमा अख्तियार विभागका १७ कर्मचारीलाई भ्रष्टाचारको अभियोगमा नियन्त्रणमा लिएको थियो । ‘विभागमा पहिला अनुगमन शाखामा १७ कर्मचारी थिए, अहिले तीन जना मात्र छन्,’ विभागका निर्देशक दिवस आचार्य भन्छन्, ‘विभागमा कर्मचारी कम भएपछि अनुगमन गर्न बोर्डलाई पत्राचार गरेका छौँ ।’
विभागले अनुगमन गर्न नसकेपछि अभिमुखीकरण तालिम दिने संस्थाले मनोमानी गरेको निर्देशक आचार्यको भनाइ छ । ‘अभिमुखीकरण तालिममा लापरबाही भएको गुनासो आएको छ,’ उनले भने, ‘कर्मचारी पर्याप्त मात्रामा नभएर त्यसलाई निरन्तरता दिन नसकेर बोर्डलाई पत्राचार गरेका हौँ ।’
अभिमुखीकरण तालिमको अनुगमन विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले मिलेर गर्नुपर्ने प्रावधान बोर्डको काम कर्तव्य र अधिकारमा उल्लेख भए पनि विभागले हेर्दै आएको थियो । बोर्डले भने विभागले पत्राचार गर्दैमा अनुगमनमा नजाने अड्डी कसेको छ । ‘विभागले पत्राचार गरेर हुँदैन, त्यस्तो निर्णय मन्त्रालयबाट आउनुपर्छ,’ बोर्डका निर्देशक टीकाप्रसाद भण्डारीले भने । आचार्यले भने मन्त्रालयलाई जानकारी दिएरै बोर्डलाई पत्राचार गरेको दाबी गरे ।
निर्देशक भण्डारीले बोर्डमा कर्मचारी अभाव भएकाले अनुगमन गर्न नसकेको प्रतिक्रिया पनि सौर्यलाई दिएका छन् । ‘बोर्डमा कर्मचारी अभाव छ तीन जना सरुवा हुन लागेका छन्, पहिला पनि केही पद खाली थियो, त्यसैले अनुगमनको काम बोर्डले गर्न सक्दैन,’ उनले भने, ‘यो काम विभागले गर्दै आएको छ उसले नै गरोस् ।
वैदेशिक रोजगार व्यवसायीको आन्दोलन र विभागमा कर्मचारी अभावका कारण तालिमको प्रभावकारी अनुगमन हुन नसकेको वैदेशिक रोजगार अभिमुखीकरण महासंघका अध्यक्ष पूर्णबहादुर मल्लको भनाइ छ । ‘महासंघले अनुगमन गरेर कारबाही गर्न मिल्दैन, हामीले अनुगमन गरेर कही नियमबमोजिम काम नभएको खण्डमा विभागमा जानकारी गराउने मात्र हो,’ अध्यक्ष मल्ल भन्छन् ।
वैदेशिक रोजगारमा जाने तयारीमा रहेका कामदारले पनि व्यवसायीले सात सय रुपियाँ लिएर पाठयक्रमअनुसारको कक्षा सञ्चालन नगरेको बताएका छन् । वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य दुई दिन अभिमुखीकरण तालिम लिनुपर्ने नियम छ । अधिमुखीकरणको तालिममा कामदारलाई कामका लागि जानुपर्ने देशको धर्म, संस्कृति, भेषभुषा, रहन–सहनलगायत नीतिनियम, हावापानीलगायत विषयमा जानकारी गराउनुपर्छ ।

प्रतिक्रिया