काठमाडौं, ५ असोज । कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पदबाट राजीनामा दिई फिर्ता हुन निर्देशन दिएका छन् । एमाओवादी कोटाबाट राजदूत नियुक्त शर्मालाई अध्यक्ष दाहालले शुक्रबार दिउँसो टेलिफोनमार्फत फिर्ता हुन निर्देशन दिएका हुन् ।
एकीकृत माओवादी केन्द्रीय कार्यालयको शुक्रबार बसेको बैठकले शर्मालाई फिर्ता बोलाउन सरकारसँग सहमतिसमेत जनाएको थियो । कतार सरकारले शर्मालाई फिर्ता बोलाउन दोस्रोपटक नेपाल सरकारसँग आग्रह गरेपछि एमाओवादीले सहमति जनाएको हो । बैठकपछि दाहालले शर्मालाई टेलिफोन गरेर फर्कन भनेको दाहालको सचिवालयले जनाएको छ । ‘राजदूतबाट राजीनामा दिएर फर्कदा पार्टीलाई पनि राम्रो होला,’ दाहालको भनाइ उद्धृत गर्दै उनको सचिवालय स्रोतले भन्यो, ‘निर्णय त तपाईं आफैँ गर्नुहोला तर तपाई र पार्टीका लागि पनि राजदूतबाट फिर्ता हुँदा नै
राम्रो हुन्छ ।’
कतारी राजदूत अहमद जासेम अल हमरले मंगलबार काठमाडौंमा गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेलाई भेटी शर्मालाई फिर्ता बोलाउन लिखित आग्रह गरेका थिए । दुई देशबीचको सम्बन्धमा असर पर्न नदिन भन्दै दोस्रोपटक गरिएको आग्रहपछि सरकारमाथि दबाब बढेको थियो ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका समयमा माओवादीकै कोटाबाट राजदूत बनेपछि विभिन्न कारण शर्मा विवादमा पर्दै आएकी छिन् । उनले कुटनीतिक मर्यादा नाघेको कतार सरकारको आरोप छ । शर्माले एक टेलिभिजन कार्यक्रममा कतारलाई ‘खुला जेल’को संज्ञा दिएपछि कतार सरकारसँग उनको दूरी बढेको थियो । शर्माले यसअघि एक जना नेपाली स्तम्भकारलाई आफूविरुद्ध लेखेको भन्दै कतारबाट फिर्ता पठाउन कतार सरकारमक्ष पत्रसमेत लेखेकी थिइन् ।
शर्माले कतारमा रहेर दुई देशको सम्बन्ध र त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको हक हितको पक्षमा काम गर्नुपर्नेमा उल्टै श्रमिकविरुद्ध लागेको भन्दै त्यहाँ रहेका नेपाली पनि उनलाई फिर्ता पठाउनुपर्ने पक्षमा उभिदै आएका छन् । पहिले फिर्ता बोलाउने र फिर्ता नभए शर्मालाई सरकारले बर्खास्त गर्ने एक सरकारी अधिकारी बताउँछन् ।
प्रतिक्रिया