काठमाडौं, ५ असोज । एमालेका शीर्ष नेताहरूले एकढिक्का भएर संविधानसभा चुनावको प्रचार अभियानमा जुट्ने उद्घोष गरेका छन् ।
एमाले प्रचार विभागले शुक्रबार मुख्यालय बल्खुमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता केपी शर्मा ओलीले एकढिक्का भएर चुनावमा जाने प्रतिबद्धता जनाएका हुन् । उनीहरूले बाहिर चर्चामा आएजस्तो विवाद एमालेमा नभएको जिकिरसमेत गरे ।
एमाले अध्यक्ष खनालले एमाले एकढिक्का भएरअघि बढ्ने र आगामी संविधानसभा चुनावमा बहुमत ल्याउने दाबी गरे । ‘लोकतान्त्रिक शक्तिले आगामी चुनावमा दुई तिहाई बहुमत ल्याउँछ,’ खनालले भने, ‘अघिल्लो चुनावमा एमाले तेस्रो र एमाओवादी पहिलो पार्टी भएकाले संविधान बन्न सकेन ।’
उनले आगामी चुनावमा एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने ठोकुवासमेत गरे । बुहपहिचानसहितको संघीयता र सामाजिक सदभावसहितको राष्ट्रिय एकताको नारालाई चुनावमा अघि सार्ने उनको भनाइ थियो । ‘एमालेकै नीति एमालेकै नेतृत्वजस्ता लोकप्रिय नारा पनि चुनावमा लिएर जान्छौँ,’ उनले भने ।
एमाले वरिष्ठ नेता नेपालले ४ मंसिरमा चुनाव भएरै छाड्ने ठोकुवा गर्दै भने, ‘तालिकामा केही हेरफेर हुन सक्छ । मिति भने सर्दैन ।’ उनले आगामी चुनावमा एमालेलाई बहुमत प्राप्त पार्टी बनाउन लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न पनि आफूहरू तयार रहेको बताए । उनले एमाले चुनावी प्रचार–प्रसारको नयाँ रणनीति बनाएरअघि बढ्ने पनि बताएका थिए ।
नेता ओलीले पनि एमालेलाई पहिलो पार्टी बन्न कसैले नरोक्ने ठोकुवा गरे । ओलीले एमाओवादीलाई सिद्धान्त नभएको, कांग्रेसलाई खरी झरेको र छाला खुइलिएको थोत्रो मादल भएको आरोप लगाएका थिए । एमालेलाई एमाओवादीका केही नेताले तेस्रोलिंगी भएको आरोप लगाएकोप्रति व्यंय गर्दै उनले सिद्धान्त नबुझेको दलसँग एमालेलाई तेस्रोलिंगी भन्ने अधिकार नभएको बताएका थिए ।
विभागले चुनाव प्रचारका लागि रातोसूर्य डटकम नामक बेवसाइट सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रममा राजधानी दैनिकका प्रकाशक महेन्द्र शेरचन एमालेमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया