शिक्षा कार्यालयमा तालाबन्दी

Bajura-ma-Talaबाजुरा, ४ असोज । जिल्ला शिक्षा कार्यालय बाजुरामा पनि नेपाल राहत शिक्षक संघर्ष समितिले तालाबन्दी गर्दा दिनभर कामकाज ठप्प भएको छ ।

एउटै शैक्षिक योग्यता र एउटै पेसामा आबद्ध शिक्षकहरू माथि विभेद गरिएको भन्दै नेपाल राहत शिक्षक संघर्ष समिति बाजुराले बिहीबार जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेको हो । अन्य शिक्षकसरह सेवासुविधा पाउनुपर्ने बताउँदै आएका राहत शिक्षकले दिनभर जिल्ला शिक्षा कार्यालयमा ताला लगाएका थिए ।
केन्द्रीय सर्कुलरअनुसार गरिएको तालाबन्दी कार्यक्रमलाई माग पूरा नभएसम्म जारी राख्ने भदै शिक्षकहरूले शुक्रबार पनि ताला बन्दी गर्ने बताएका छन् । राहत शिक्षकले पोसाक भत्ता, दुर्गम भत्ता, १८ प्रतिशत तलब वृद्धिलगायत माग राख्दै पटकपटक आन्दोलन गर्दै आएका छन् । सामान्य रूपमा भन्दा राज्यले सुनुवाइ नगरेकाले पठनपाठन कार्य ठप्प पारेर आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका सचिव जयबहादुर बिष्टले बताएका छन् ।
राहत शिक्षकले माग पूरा नभएसम्म विद्यालय नफर्किने गरी आन्दोलनलाई जारी राख्ने बताएका छन् । एउटै तहमा अध्यायपन गराउने एउटै योग्यता भएका शिक्षकलाई पनि दुई किसिमको सेवासुविधा मान्य नभएको र विभेदकारी सरकारी नीतिको विरोधस्वरूप विद्यालयको पठनपाठन नै बन्द गरेर आन्दोलनमा होमिएको राहत शिक्षकले बताएका छन् ।
शिक्षा कार्यालयमा ताला लगाइएपछि कार्यालयको कामकाज पनि दिनभर ठप्प भएको थियो । ताला बिहान १० बजेदेखि ४ बजेसम्म लगाइएको थियो । एक सय बढी राहत शिक्षकहरू दिनभर शिक्षा कार्यालय धर्ना दिएका थिए । अन्य शिक्षकसरह दरबन्दी कायम गर्नुपर्ने, दुर्गम भत्ता र पोसाक भत्ता तत्काल उपलब्ध गर्नुपर्नेलगायत चारबुँदे माग उठाए पनि राज्यले सुनुवाइ नगरेको राहत शिक्षकले गुनासो छ ।
सबैजसो सरकारी कार्यालका राहत शिक्षक आन्दोलनका लागि जिल्ला सदरमुकाम मार्तडी आएपछि गाउँका विद्यालयको पठनपाठन प्रभावित बनेको छ । जिल्लामा १६३ जना प्रावि ४६ जना निमावि र ४१ जना माविमा कार्यरत छन् । यता जिल्ला शिक्षा कार्यालयका उप–सचिव कृष्ण कुँवरले पनि दिनभर कामकाज ठप्प भएको स्वीकार गरेका छन् । केन्द्रीय सर्कुलरअनुसार आन्दोलन गरिएको बताउँदै कुँवरले केही माग पूरा भए पनि केही मागको बारेमा पहल भइरहेकाले चाँडै समस्या समाधान हुने बताए ।

प्रतिक्रिया