अख्तियारको क्षेत्रीय कार्यालयमा उजुरी आउन थाले

पोखरा, ४ असोज । पोखराको नयाँ बजारस्थित पुरानो कर कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयको स्थापनासँगै सार्वजनिक पद धारण गरेका व्यक्तिले गरेका अनुचित एवम् भ्रष्टाचारजन्य खालका उजुरी कार्यालयमा आउन थालेका छन् ।

आयोगको क्षेत्रीय कार्यालय स्थापना भएको र कार्यालयले यसअघि क्षेत्रीय प्रशासन कार्यालयमा आएका १ सय ३७ वटा उजुरी पनि आफ्नो मातहतमा ल्याई छानबिन सुरु गरेको छ ।
सम्बन्धित व्यक्ति आफैँ कार्यालयमा आएर, हुलाकमार्फत, पत्रपत्रिकामा प्रकाशित समाचार वा अन्य स्रोतबाट आएका उजुरीलाई गम्भीरतापूर्वक लिँदै कार्यालयले कानुनी प्रक्रिया अघि बढाउनेछ ।
कार्यालयको मुख्य कार्यक्षेत्र विशेषगरी सरकारी निकाय, सार्वजनिक संस्थान स्थानीय निकाय र नेपाल सरकारको पूर्ण स्वामित्व एवम् आंशिक लगानी रहेका संघसंस्था रहनेछन् । कार्यालयले अन्य विभिन्न संस्थामा पनि कर छल्ने तथा अनियमितता गरेको पाएमा कारबाहीका लागि सम्बन्धित निकायलाई दबाब दिनसक्ने व्यवस्थासमेत गरेको छ ।
कार्यालयका क्षेत्रीय प्रमुख दुर्गाप्रसाद पोखरेलले कार्यालयले उजुरीको सत्यतथ्य बुझी त्यसको जानकारी आयोगको केन्द्रीय कार्यालयमा पठाउने बताए । अपराधीमाथि मुद्दा दायर गर्ने विशेष अदालत काठमाडौँमा मात्रै रहेकाले जान आउन कठिनाइ हुने भएकाले आयोगले निकट भविष्यमा भ्रष्टाचार तथा अनुचित खालका मुद्दा हेर्नका लागि पुनरावेदन अदालतका तीनजना न्यायाधीशलाई तोक्न सक्नेछ । क्षेत्रीय प्रमुख पोखरेलले
१६ वटै जिल्लामा आफ्नो कार्य क्षेत्र विस्तार गर्न असम्भव भएकाले निकट भविष्यमा रूपन्देहीको बुटवलमा सम्पर्क कार्यालय खोलिने बताए ।

प्रतिक्रिया