भारतीय प्रहरीले छापा मारेकोमा विरोध

Indian-Police-Bardiya-Policबर्दिया, ४ असोज । भारतीय प्रहरीले नेपाली भूमिमा आएर छापा मार्दासम्म पनि थाहा नपाएको भन्दै बर्दिया जिल्लाका राजनीतिक दलहरूले स्थानीय प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् ।

राजनीतिक दलहरूले बिहीबार गुलरियामा आयोजना गरेको संयुक्त विरोधसभामा जिल्ला नेताहरूले युनिफर्मसहित दुई गाडीमा भारतीय प्रहरी आएर छापा मारे पनि स्थानीय प्रहरी–प्रशासनले थाहा पाइन भन्नु लज्जास्पद भएको बताए । विगतदेखि नै जिल्लामा भारतीय हस्तक्षेप बढेको उल्लेख गर्दै उनीहरूले सदरमुकाममै आएर भारतीय प्रहरीले स्थानीय बासिन्दाको घरमा छापा मार्नु ज्यादती भएको बताएका थिए ।
एमाले जिल्ला अध्यक्ष हरिप्रसाद ज्ञवालीले भारतीय रवैयाप्रति खेद व्यक्त गर्दै राष्ट्रियताको आन्दोलन बर्दियाबाटै थाल्ने उद्घोष गरे । भारतीय पक्षबाट गरिएको हर्कतको तत्काल प्रतिवाद गर्न सरकारसँग अध्यक्ष ज्ञवालीको माग थियो ।
नेकपा–माओवादी बर्दियाका इन्चार्ज द्रव्य शाह सुमनले श्रेष्ठको घरमा भारतीय प्रहरीले छापा मारे पनि सरकार मौन बसेकोमा आपत्ति जनाए । “जिल्लाको शान्ति सुरक्षा कायम गर्न नसक्ने सिडिओ र एसपीले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भने ।”
दलहरूले निकालेको र्‍याली गुलरिया बजार परिक्रमा गरी विरोधसभामा परिणत भएको थियो ।
एमाले भ्रातृसंगठन युवा संघ नेपाल बर्दियाले पनि उक्त घटनाको भत्र्सना गरेको छ । युवा संघ जिल्ला अध्यक्ष धु्रव थापाले यस्ता घटना भारतीय पक्षले दोहोर्‍याए प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
भारतीय प्रहरीले बुधबार बिहान सीमाबाट ८ किलोमिटरभित्र आएर गुलरिया ८ का मञ्जुलप्रसाद श्रेष्ठको घरमा छापा मारेको थियो । भारतीय प्रहरीको हत्या गरी फरार आरोपित भारतीय नागरिक मोना सरदार भन्ने बग्गासिंह र डालु भन्ने सचिन उर्फ लुकेर बसेको आशंकामा श्रेष्ठको घरमा उनीहरूले खानतलासी लिएको पाइएको प्रहरीले जनाएको थियो । भारतीय प्रहरीले स्थानीय प्रशासनसँग समन्वय नगरी एकाएक आएर नेपाली भूमिमा खानतलासी लिएको थियो ।
यसैबीच नेकपा–माओवादीको चारवटा जनवर्गीय संगठनले पनि उक्त घटनाको भत्र्सना गर्दै चुनावी मन्त्रिपरिषद र भारतीय दूतावासलाई ज्ञापनपत्र बुझाएको छ । उक्त घटनाप्रति भारतको धारणा माग गर्दै उनीहरूले सार्वभौमिकताको सम्मान गर्न भनेका छन् ।
छानबिन भइरहेको छ : दूतावास

काठमाडौं : भारतीय दूतावासले बर्दियाको गुलरिया–८ स्थित मञ्जुलप्रसाद श्रेष्ठको घरमा भारतीय प्रहरी आएर छापा मारेको घटनाको छानबिन भइरहेको जनाएको छ ।
हत्याका आरोपी दुई व्यक्ति श्रेष्ठको घरमा लुकी बसेको आशंकामा भारतीय प्रहरीले बुधबार एकाबिहानै छापा मारेको घटनाको निन्दा भएपछि दूतावासको प्रतिक्रिया आएको हो । ‘यस्ता घटना हामी स्वीकार गर्दैनौँ,’ बिहीबार प्रेस वक्तव्यमार्फत दूतावासले भनेको छ, ‘यदि उक्त घटना सत्य भए दोषीमाथि कारबाही हुनेछ ।’

प्रतिक्रिया