उम्मेदवारी दर्ता साता दिन सर्‍यो

Elecatation-Commisionकाठमाडौं, ४ असोज । निर्वाचन आयोगले बिहीबार संविधानसभा चुनावको कार्यतालिका परिर्वतन गरेको छ । अन्तरिम चुनावी मन्त्रिपरिषद्को आग्रहमा आयोगले ४ मंसिरका लागि निर्धारित मतदान प्रक्रियालाई असर नपर्ने गरी कार्यतालिका हेरफेर गरेको हो ।

आयुक्त डा. अयोधीप्रसाद यादवले उच्चस्तरीय राजनीतिक समितिमा आबद्ध दल र मन्त्रिपरिषद्को आग्रहमा ४ मंसिरमा हुने मतदान मितिलाई असर नपर्ने गरी कार्यतालिकामा केही संशोधन गरिएको जानकारी दिए । चुनावी मन्त्रिपरिषद्ले बुधबार आयोगलाई कार्यतालिका परिवर्तन गर्न आग्रह गरेको थियो ।
आयोगले यसअघि ७ असोजमा राजनीतिक दलहरूलाई समानुपतिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । बिहीबार समानुपातिकको बन्दसुची पेस गर्न आयोगले १४ असोजको मिति तय गरेको छ । त्यसैगरी प्रत्यक्षतर्फको उम्मेदवारी १० असोजमा दर्ता गर्न आयोगले तालिका सार्वजनिक गरेकोमा अब १७ असोजमा हुने भएको छ ।
समानुपातिकमा १० हजार धरौटी
आयोगले आगामी संविधानसभा चुनावमा समानुपातिकका उम्मेदवारबाट जनही १० हजार धरौटी लिने भएको छ । समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्दा जनही १० हजारको भौचर पनि आयोगमा पेस गर्न राजनीतिक दलरूलाई आयोगले आग्रह गरेको छ । आयोगले काठमाडौंका लागि राष्ट्रिय बाणिज्य बैक ठमेल शाखाको खातामा जनही १० हजार जम्मा गर्न आग्रह गरेको हो ।
स्वतन्त्रलाई ४२ चिह्न
आयोगले बिहीबार नै स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिह्न निर्धारण गरेको छ । आयोगले ४२ प्रकारका चिह्न निर्धारण गरेको छ । निर्धारित चुनाव चिह्नमा अर्ना भैँसी, इनार, इस्त्री, कप, काइँयो, कालोपाटी, कारखाना, कुकुर, कुखुराको चल्ला, खल, खुर्पी, गँगटो, गितार, ग्यास चुल्हो, जाँतो, झोला, टेन्ट, डालो, ढिकी, ढुंगेधारा छन् । त्यस्तै ताल्चासाँचो, तिलहरी, दाँत माझ्ने ब्रस, नरसिंहा बाजा, पंखा, प्रेसर कुकर, पलङ, पेन्सिल, बकुल्ला, बँदेल, ब्याट, बुरुस, भुइँकटहर, भ्यागुतो, लट्टाइ, लाटोकोसेरो, सयपत्री फूल, साबेल, सुराही, स्वेटर, स्कुटर र हेल्मेट रहेका छन् । आयोगले यसअघि नै दुई सय प्रकारका चिह्न निर्धारण गरिसकेको छ ।

प्रतिक्रिया