नाम चलेका कलाकार नै राजश्व मारा

Vibek Obraya With Wifeमुम्बई । वलीवुडमा कर छली अर्थात चोरीको विषयले चर्चा पाएको छ । मुम्बईको सेवाकर विभागले अभिनेता विवेक ओबराय विरुद्ध कर छलीको अभियोगमा पछिल्लो पटक मुद्दा दर्ता गरेको छ । विवेकले ४० लाख रुपियाँ कर छली गरेको आरोप छ ।
वलीउडका नाम चलेका कलाकार र निर्माताहरुले कर छली गर्ने गरेको आरोप लाग्दै आएका छन् । निर्मात्री एकता कपूर, निर्देशक राम गोपाल वर्मा, अभिनेत्री श्वेता तिवारी र अभिनेता सन्नी देओल कर छलीको आरोप छ ।
कर छलीकै आरोपमा सेवाकर विभागले वलीउडका चर्चित फिल्म निर्देशक राम गोपाल वर्मा र अभिनेत्री श्वेता तिवारीलाई पत्र काटेर बयानका लागि बोलाएको छ । फिल्म निर्देशक अनुराग कश्यपले समेत आइतबार कर छलीको अभियोगमा सेवाकर विभागमा पुगेर बयान दिएका छन् । ५५ लाख रुपियाँ कर छलीको आरोपमा अनुराग कश्यपसँग सोधपुछ गरिएको छ ।
सेवाकर विभागले बुधबार मात्रै राम गोपाल वर्माको कार्यालयमा खानतलासी गरेको छ । सोही विषयमा वर्मासँग बयान पनि लिई सकेको छ ।
बिग बोस सीजन–२ की विजेता श्वेता तिवारीको कमाईका बारेमा जानकारी लिन शुक्रबार बोलाएको छ । शुक्रबार तिवारीसँग बयान लिईने छ ।
उता, वलीवुड अभिनेत्री प्रीटी जिण्टाले पनि चेक बाउन्सको आरोपमा मुद्दा खेप्नु परेको छ । प्रीटी जिण्टालाई फिल्म ‘इश्क इन पेरिस’का संवाद लेखक अब्बास टायरवालाले बाउन्स चेकको मुद्दा दायर गरेका हुन् । अब्बासले १८ दशमलव ९ लाख रुपियाँको चेक बाउन्स भएको आरोप प्रीटी जिण्टालाई लगाएका थिए ।

प्रतिक्रिया