अनेरास्ववियु महाधिवेशनसँगको अपेक्षा

Akhil-Umlदेश संवैधानिक र राजनीतिक संकटको भुमरीमा छ । गैरदलीय व्यक्तिको नेतृत्वमा सरकार छ । व्यवस्थापिकाको अस्तित्व नै छैन । न्यायपालिका राजनीतिक प्रभावको चपेटामा छ र आफ्नो स्वतन्त्रता निष्पक्षता गुमाउँदै गएको छ । समाजमा व्यापक निराशा, कुण्ठा जन्मिएको छ । विदेशी भूमिमा रगत र पसिना चुहाउँदा चुहाउँदै स्वदेशमा चिहान नपाउने युवाले नेपालमा आफ्नो भविष्य देख्न छाडेका छन् । समाजका हरेक क्षेत्र उल्टो अर्थमा राजनीतीकरण हँदै गइरहेका छन् जसको अन्तिम गन्तव्य सामाजिक भ्रष्टीकरणसिबाय अरू केही देखिँदैन । यसै पृष्ठभूमिमा देशको सर्वाधिक शक्तिशाली विद्यार्थी संगठन अनेरास्ववियुको २१औँ राष्ट्रिय महाधिवेशन हुँदै छ ।
एक विद्वान्ले कतै लेखेका छन्, ‘संसार परिवर्तन गर्नु छ भने आफँबाट सुरु गर ।’ पृष्ठभूमिमा प्रस्ट्याइएको छ, समाज उल्टो दिशामा हिँडिरहेको छ । सँगसँगै हामी पनि, समाजलाई सुल्टो दिशामा हिँडाउनु छ तर सुरुआत आफँै सुल्टो दिशामा हिँडेर गर्नुपर्छ । भन्न खोजिएको कति मात्र हो भने सामाजिक विकृति र विसंगतिको प्रभाव अनेरास्ववियुमा पनि पर्‍यो । केही समयदेखि यो वा त्यो नाममा अनेरास्ववियुले आन्दोलनको भावना, विद्यार्थीको चाहना र समयको आवश्यकतालाई लत्याउँदै गलत बाटोमा हिँड्यो । दुनियाँ परिवर्तनको संकल्प बोकेको संगठन आफँै परिवर्तन हुन सकेन भने उसका परिवर्तनका संकल्प केवल हात्तीको देखाउने दाँत मात्र हुन्छन् । हाम्रा आँखाले भइरहेको समयलाई देख्न, चिन्न र बुझ्न सकेन भने भोलिको सपना देख्नु व्यर्थ हुन्छ । युगले सुम्पिएको दायित्व पूरा गर्न सकेनौँ भने दुनियालाई युग निर्माण गर्ने फुर्ती लगाउनुको कुनै अर्थ रहँदैन ।
पहिलो कुरा, अनेरास्ववियुले आफ्नो वर्गीय चरित्र गुमाउँदै गएको छ । अनेरास्ववियु केवल झोला बोकेर शिक्षण संस्था जाने विद्यार्थीको मात्र संगठन होइन । यो नियतिले विद्यार्थी हुन नपाएका, स्कुल जाने समयमा गाईवस्तु लिएर गोठालो जाने, डोको र हँसिया बोकेर घाँस–दाउरा गर्ने ग्रामीण बालबालिका र युवाहरूको पनि संगठन हो । तर, आजको अनेरास्ववियु न ग्रामीण बालबालिकाको भाग्य र भविष्य बन्न सकिरहेको छ न त वास्तविक विद्यार्थीको इच्छा र चाहनाको दायराभित्र छ । दु:खका साथ भन्नुपर्छ, आज विद्यार्थी आन्दोलनभित्र गैरविद्यार्थीको हाली–मुहाली छ । जिन्दगीमा विश्वविद्यालयको कक्षाकोठा नदेखेका, आफूले पढ्नुपर्ने विषयसमेत थाहा नपाउने मान्छे केवल नेतागिरी गर्नकै लागि विद्यार्थी परिचयपत्र बोकेर हिँडिरहेका छन् । अनेरास्ववियुमा पनि तिनैको वर्चस्व छ । जबसम्म विद्यार्थी आन्दोलन र यसको नेतृत्व वास्तविक विद्यार्थीको हातमा आउँदैन तबसम्म विद्यार्थी आन्दोलन र स्वयं अनेरास्ववियु नेता उत्पादन गर्ने कारखाना बन्नेबाहेक अरू केही हुन सक्दैन । ग्रामीण आधारभूत विद्यार्थीले भोग्नुपर्ने समस्या र त्यहाँको शैक्षिक स्तर कहिल्यै नबुझेका र अनुभव नगरेका मान्छे सहरिया निर्माण व्यवसायी र ठेकेदारको पैसाले जबरजस्ती नेता बनिरहेका छन् । यसरी ठेकेदारी शैलीमा बनेका नेताको नेतृत्वमा विद्यार्थी आन्दोलनले गति लिन सक्ला ?
अनेरास्ववियु स्थापनाको करिब पाँच दशक पुग्न लागिसक्दा हजाराँै नेता उत्पादन गरेको छ । हिजो अनेरास्ववियुको झन्डा बोकेर जनमुखी, गुणस्तरीय र वैज्ञानिक शिक्षाको माग राख्दै अनशन बस्ने, सडक तताउने र ज्ञापनपत्र बुझाउने कोही मान्छे आज मन्त्री बनिसकेका छन् । कोही नीति–निर्माणको उच्च तहमा पुगेका छन् । तर, तिनीहरू कोही पनि आज जनमुखी, गुणस्तरीय र वैज्ञानिक शिक्षाको लक्ष्य प्राप्ति गर्ने नीति निर्माण गर्न पहलकदमी लिँदैनन्, अनि शैक्षिक रूपान्तरणसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा मन्त्रालय सम्हालेर आमूल शैक्षिक परिवर्तन गर्ने आँट गर्दैनन् । यसबाट के भन्न सकिन्छ भने कि उनीहरूसँग जनमुखी, वैज्ञानिक र गुणस्तरीय शिक्षाको खाका नै छैन कि त उनीहरूले विद्यार्थी आन्दोलनमाथि बेइमानी र गद्दारी गरे, मात्र यसलाई प्रयोग गरे आफ्नो स्वार्थ पूर्तिका लागि । त्यसैले अब अनेरास्ववियुले प्रस्ट शैक्षिक एजेन्डा र इमानदारी बोकेको नेतृत्व निर्माण गर्नुपर्छ । आजको अनेरास्ववियु थुप्रै गठन, पुनर्गठन र विभाजनको शृंखला पार गरेर आजको ठाउँमा आएको हो । योसँग विगतका तीता अनुभव छन् जसलाई सुधार गर्नुपर्छ अनि मीठा अनुभव जसलाई निरन्तरता दिइनुपर्छ । तर, आजको अनेरास्ववियुमा करिब २० वर्षपहिलेको ‘इगो’ ले काम गरिरहेको छ । २० वर्षपहिलेदेखिका प्रतिस्पर्धा थप अस्वस्थ हुँदै गइरहेका छन् । अनेरास्ववियु आधारभूत विद्यार्थीको आशाको केन्द्र हुनुपर्नेमा दुई/चार जना टाठा–बाठा नेताहरूको बदला लिने केन्द्र बनेको छ । पार्टी नेताहरूको ठाडो प्रभाव अनेरास्ववियुमा पर्दा संगठन प्रतिदिन ध्वस्त हुँदै गइरहेको छ । गुटबन्दीलाई संस्थागत गर्ने काममा पार्टीका नेताहरू नै लागेका छन् । गुटबन्दी ‘स्कुल अफ थट’ बाट होइन ‘स्कुल अफ इगो’ ले सञ्चालित छन् । यो प्रवृत्तिले दुई/चार जना मान्छे नेता त बन्न सक्लान् तर लाखौँ विद्यार्थीको भाग्य र भविष्यमाथि भने गम्भीर कुठाराघात हुनेछ । संगठनभित्र गुटबन्दी यसरी अनिवार्य बन्यो कि जोसुकै पनि आफ्नो राजनीतिक भविष्यका लागि नचाहेरै पनि यो वा त्यो गुटमा लाग्नै पर्ने स्थिति खडा भयो । आज राम्रो सम्भावना बोकेका साथीहरू सबै गुटतिर छरिएर रहेका छन् । तर, हरेक गुटमा राम्रो विचार र चिन्तन बोक्नेहरू अल्पमतमा छन् । अब हरेक गुटमा रहेका राम्रा साथीहरूले लाखौँ विद्यार्थीको खातिर स्वार्थपूर्ण गुटबाट विद्रोह गर्ने आँट गर्ने कि नगर्ने ? प्रश्न टड्कारो रूपमा खडा भएको छ ।
हामीले धेरै लामो समयदेखि उठाउँदै आएको कुरा हो, द्वैध शिक्षानीतिको अन्त्य । शैक्षिक व्यापारीकरणको अन्त्य र शिक्षामा वैदेशिक हस्तक्षेपको अन्त्य । समय सँगसँगै यी सूचकको डिग्री पनि बढ्दै गइरहेको छ । खासमा शिक्षामा राज्यको लगानी र नियन्त्रण हुनुपर्छ । तर, विडम्बना गरिएको लगानीमा अनुगमन छैन भने नियन्त्रण त शून्यप्राय: छ । हामीले द्वैध शिक्षानीतिविरुद्ध, शैक्षिक निजीकरण, शैक्षिक व्यापारीकरण र वैदेशिक हस्तक्षेपविरुद्धको नीति तय गरिरहने तर ती सूचकको डिग्री घडीको सुल्टो दिशामा बढिरहने हो भने कि त आन्दोलनको मोर्चालाई सशक्त बनाउनुपर्छ । यस्तो अवस्थामा नेतृत्वले बागबजारका कोठीको कुर्सी तताएर बस्ने मात्र होइन, शैक्षिक अराजकताविरुद्ध सडक तताउने आँट पनि गर्नुपर्छ । नत्रभने, हाम्रा नीति र सम्बन्ध पुनर्परिभाषित गर्दा हुन्छ– प्रगतिशील विद्यार्थी आन्दोलनलाई विघटन गर्ने सर्तमा ।
शिक्षा पाठ्यपुस्तक अध्ययन गर्ने, परीक्षा दिने, सर्टिफिकेट हात पार्नेजस्ता कुरासँग मात्र सम्बन्ध राख्ने कुरा होइन । यसभित्र हाम्रो इतिहास लुकेको हुन्छ, पहिचान बोलेको हुन्छ, समाज र राष्ट्रको अस्तित्व झल्किरहेको हुन्छ । यस्तो संवेदनशील क्षेत्रमा जथाभावी ढंगले वैदेशिक लगानी भित्र्याइनु आपत्तिजनक कुरा हो । अल्पकालीन दृष्टिले यो सवाल सकारात्मक नै लाग्ला तर दीर्घकालीन ढंगले यसको ठूलो नकारात्मक असर रहन्छ । यसका केही प्रारम्भिक लक्षण देखिइसकेका छन् । जस्तो कि बुद्ध भारतमा जन्मिएका हुन् भन्ने पाठ्यपुस्तक पढाइनु, अंग्रेजी सिकाउने नाममा बालबालिकालाई नेपालीलगायत मातृभाषा बिर्सन बाध्य पार्नु आदि । अनेरास्ववियु यी मुद्दामा प्रस्ट हुनुपर्छ ।

प्रतिक्रिया