इलाम, ३ असोज । बाबु–आमाको ममताबाट वञ्चित बालबालिकाको कस्तो मानसिकता हुन्छ भनेर उदाहरण बनेकी छिन् १४ वर्षीया बालिका नीता सुनुवार ।
आमा अर्को विवाहित व्यक्तिसँग बिहे गरेको आरोपमा जेलमा पुगेपछि नीताको दिनचर्या बदलिँदै गयो । पुवामझुवा–३ मा निर्धनतासित पौँठेजोरी खेल्न बाध्य उनका बुबा दुर्गाकुमारले पनि बनीबुतो गर्दागर्दै छोराछोरीलाई माया ममता दिन भ्याएनन् । यसो हुँदा घर बस्न नसकेपछि नीता दुई वर्षअघि इलाम सदरमुकामको धोबीधारास्थित मावली झरेकी थिइन् । गरिबीका कारण किशोरावस्थामा प्रवेश गर्दासम्म उनी साउ अक्षरसित परिचय हुन सकिनन् । गाउँमै स्कुल भए पनि उनलाई त्यसको दूरी पत्तो भएन । त्यसैले पनि नीता दुई बहिनी र एक भाइलाई साथै लिएर धोबीधारा झरिन् ? सायद मावलीमा राम्रै हुने आशा राखेकी हुनुपर्छ उनले ।
उनले सोचेजस्तो भएन त्यहाँ पनि । अनि, गाउँका अरू दुईजना बालिका लिएर झन्डै एक सातादेखि बेपत्ता भइन् उनी । साथमा इलाम–७ की १० वर्षीया पुष्पा बानियाँ र १३ वर्षीया विमला राई थिइन् ।
उनलाई मावलीले खोजी गरे तर भेट्टाएनन् र निराश भएर प्रहरीसमक्ष उजुरी दिन पुगे । प्रहरीले पनि निकै खोजी गरे तर फेला पार्न सकिरहेका थिएनन् । यस्तैमा कसैले अपुस्ट खबर सुनायो, ‘उनीहरू माइखोलाको राजदुवालीमा गिट्टी कुटिरहेका छन् ।’ यस्तो खबर सुनेपछि घरबाट उनीहरूलाई लिन राजदुवाली गए आफन्त । उनी त्यहाँबाट फर्किन मानिन् । बरु उल्टै लिन जानेलाई हतियारले प्रहार गर्न थालिन् । अन्तमा प्रहरी नै जानु पर्यो र स्थानीयको सहयोगमा उनीहरू तीनै जनालाई मंगलबार सकुशल उद्धार गरिएको छ ।
आफन्तको जिम्मामा रहेकी नीताले आफूहरू अशिक्षित भएकाले कामको खोजीमा हिँडेको प्रहरीसमक्ष बताइन् । गरिबीले फेरि पनि नीता, पुष्पा र विमलाहरू नहराउलान् भन्न सकिने अवस्था छैन । यसप्रति पारिवार, समाज र राष्ट्रले जिम्मेवारी लिनुपर्ने अवस्था छ ।
प्रतिक्रिया