नेताको घरदैलो चहार्दै रोज राणा

roj_ranaकाठमाडौं, ३ असोज । विवादित छविका चलचित्र निर्माता तथा निर्देशक रोज राणा (सरोज थापा) संविधानसभा चुनावमा उम्मेदवार बन्नका लागि दलबलसहित कांग्रेसका शीर्ष नेताहरूकहाँ धाउन थालेका छन् ।

राणाले प्युठान क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा उम्मेदवार बन्नका लागि कांग्रेस सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवालाई निवासमै भेटी टिकट दिन दबाब दिन थालेका हुन् । बुधबार बिहान कांग्रेस शीर्ष नेताहरूको घर/घर पुगी उनले ज्ञापनपत्र बुझाएका थिए । कांग्रेस प्युठान–२ बाट प्रत्यक्षतर्फ सिफारिसमा परेका उनी सभापति कोइराला र नेता देउवा मात्र होइन, उपसभापति रामचन्द्र पौडेलको निवासमा समेत पुगेका थिए । ज्ञापनपत्र बुझेपछि तीनै नेताहरूले सकारात्मक प्रतिक्रिया दिएको राणाले सौर्यलाई बताए । उनले भने, ‘मेरो उम्मेदवारीप्रति तीनै नेता सकारात्मक छन् । म टिकट पाउँछु भन्नेमा विश्वस्त छु ।’
राणाका साथमा निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक संघका महासचिव ऋषि लामिछाने, कलाकार संघका अध्यक्ष नबल खड्का, द्वन्द्वकलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, लेखक संघका अध्यक्ष योगेश रायमाझीसहित दुई दर्जन कलाकार शीर्ष नेताहरूको घरदैलोमा पुगेका थिए । कलाकारले टिकट पाउनुले सम्पूर्ण कलाकारको प्रतिनिधित्व गराउने ठहर हुने भएकाले उनलाई टिकट दिनुपर्ने भन्दै उनीहरूले नेताहरूको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया